सकियो दोस्रो सुन्दरहरैंचा प्याब्सन स्पोर्टस मिट, ब्राइट फ्युचर बन्यो च्याम्पियन

  • १ पुष २०७६, मंगलवार

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) सुन्दरहरैंचाले आयोजना गरेको दोस्रो प्याब्सन स्पोर्टस मिट २०७६ मा सुन्दरहरैंचा ८ सलकपुरमा अबस्थित ब्राइट फ्युचर बोर्डिङ स्कुल पहिलो भएको छ ।

सुन्दरहरैंचा क्षेत्रका २२ वटा संस्थागत विद्यालय सहभागी भएको प्रतियोगिताका विभिन्न खेलमा सबैलाई उछिन्दै ब्राइट फ्युचर पहिलो भएको हो ।

कुल २६ वटा खेल खेलमा प्रतिस्पर्धा गराइएको प्रतियोगितामा ५ सयभन्दा बढी खेलाडी सहभागी थिए । प्रतियोगितामा सुन्दरहरैंचा– ६ को पूर्वाञ्चल एकेडेमी दोस्रो भएको छ ।  त्यस्तै सिदार्थ स्कुल खोर्साने  सुन्दरहरैंचा– १०  ले तेस्रो स्थान र वालसदन एकेडेमी सुन्दरहरैंचा ९   ले सान्त्वना स्थान हात पारेका छन् ।

त्यसैगरी  पुरुष भलिबल खेलतर्फ लभ्ली एन्जल्स मृगौलियाले उपाधि जितेको छ । भलिबलमा सुविजीमुर स्कुल विराटचोक उपविजेता भएको छ।

महिला भलिबल खेलतर्फ ब्राइट फ्युचर बोर्डिङ स्कुलले उपाधि जितेको छ भने श्री इन्द्रपुर बोर्डिङ स्कुल सुन्दरहरैंचा १२ ले उपविजेता भएको छ ।

विजयी विद्यालयलाई कार्यक्रमकी प्रमुख अतिथि सुन्दरहरैंचाकी उपप्रमुुख धनमाया तामाङले शिल्ड तथा प्रमाणपत्र प्रदान गरिन् । स्पोर्टस् मिटको सोमबार भएको समापन कार्यक्रममा प्याब्सनको केन्द्रीय समिति सदस्य हेमन्त कार्की, प्रदेशका वरिष्ठ उपाध्यक्ष टीका ढकाल लगायतको उपस्थिति थियो ।