केराबारी ९ स्थित सिंहदेवी सामुदायिक वनमा अनियमितता, पुरानो र नयाँ समितिबिच गाँड कोराकोर

पदाधिकारीद्वारा ढाकछोप प्रयास

  • ६ पुष २०७६, आईतवार

मोरङ केराबारी ९ स्थित सिंहदेवी सामुदायिक वन उपभोक्ता समुहको पुरानो समिति र नयाँ समितिले लामो समयसम्म हिसाब बरबुझारथ नगरेका कारण ठुलै अनियमितता भएको पाइएको छ ।
गत चैत महिनामै चुनावी साधारणसभा भएर नयाँ समिति आएपनि पुरानो र नयाँ समितिले हालसम्म आर्थिक र मौज्दात काठको हिसाब बुझबुझारथमा समितिले बेवास्ता गरेका कारण अनियमितता भएको हो ।
वनकै आन्तरिक लेखा समितिले पनि अनियमितता भएको ठहर गर्दै पुरानो र नयाँ समितिलाइ हिसाब मिलाउन पटकपटक ताकेता गरेको छ तर खासगरी नयाँ समितिले त्यसको बेवास्ता गर्दै घाटगन्तिमा ढिलाइ गरेपछि सो कुरा बाहिर आएको हो । सामुदायिक वनको साधारणसभाबाट नयाँ समिति बनेको ९ महिनाभन्दा बढी भइसकेको छ । तर पुरानो समितिले बुझाउनु पर्ने हर हिसाब नयाँ समितिले यकिन गर्न सकेको छैन ।
 पुरानो समितिले पेश गरेका विवरणमा १ सय ८० क्युफिट काठ जंगलबाटै हराएको, १ सय ५० क्युफिट फिट काठ अपुग भइ ठेकेदारलाई थपिदिएको, र २ सय ५० क्युफिट काठ खोलाले बगाएको जस्ता बिषयमा लेखा समितिले प्रश्न उठाएको छ ।  त्यसमा पनि खोलाले बगाएका र हराएका भनिएका काठको मुचुल्का नगरिएको भन्दै लेखा समितिले त्यसलाई मान्यता दिएको छैन । त्यसैले घाटगद्दीमा काठ सर्टेज भएमा त्यसको जिम्मेवार को हुने भन्ने अन्योल दिनानुदिन बढेको छ ।
वनको पुरानो घाटगद्दीमा भएका मुढाहरुको गन्तीमा समेत लामो समयसम्म बेवास्ता गर्दा पहिले निकालिएका, बिक्री गरिएका र मौज्दात लकडीको हिसाब गोलमाल भएको छ । साधारणसभा लगत्तै नयाँ समितिले काठको लगत बुझ्नुपर्नेमा झण्डै एक बर्षसम्म बेवास्ता गरेकोले त्यसको जिम्मेवार नयाँ समिति नै हुने पुर्व अध्यक्ष भिम कार्कीले बताए । गत चैतमा भएको वनको १५ औं साधारणसभाबाट लालबहादुर कार्की अध्यक्ष बनेका थिए ।
सिंहदेवी वन उपभोक्ता समितिको लेखा समिति संयोजक यज्ञ भण्डारीले पुरानो घाटगद्दीमा भएका काठ गनेर यकिन गर्न र बुझबुझारथ गर्न वन समितिले समयमै चासो नदिँदा समस्या भएको बताए । भण्डारीले लेखा समितिले अन्य हिसाब निकालिदिइ सकेको र पुरानो समितिले बुझाउनुपर्ने रकमको हिसाब मिलिसकेको बताए । लेखा समितिले पुरानो समितिले नयाँ समितिलाई बुझाउनुपर्ने ११ लाख बक्यौता देखाएको थियोे । छिटो घाटगद्दी गन्ती गरेर मौज्दात काठलाई आधार मानेर मात्र हिसाब मिलाउन लेखा समितिले ताकेता गरेपनि त्यसको बेवास्ता भएको लेखा समितिको आरोप छ ।
वन समुहका अध्यक्ष लालबहादुर कार्कीले अहिले मौज्दात काठको लगत संकलन भैरहेको बताए । पुरानो समितिले हरहिसाब लेखा समितिलाई दिन केही ढिलो गरेको कारणले समयमै नयाँ समितिले हिसाब बुझ्न नसकेको उनले बताए । मौज्दात काठबारे लगत संकलन भैरहेकोले केहीदिनमै यसको यथार्थ अवस्था थाहा हुने उनले दाबी गरे । पुरानो समितिका तर्फबाट रकम पनि जम्मा गरिदिइसकेको भन्ने जानकारी पाएको तर रकम जम्मा गरेको भौचर वा आधिकारिक स्वामित्व आफुहरुमा आइनसकेको उनले बताए  ।लालबहादुर ठोस निर्णय लिन नसक्ने ब्यक्तिका रूपमा परिचित छन्  । नयाँ समितिले हालसम्म आर्थिक बर्ष २०७५/०७६
को साधारणसभा गरेको छैन ।
उता वनका पुर्व अध्यक्ष भिम कार्कीले नयाँ समितिले कुनै लिखत कागज नगरी मौज्दात रकम, सबै प्रकारका कागजात र सबै सामग्री लगेको र साधारणसभाले पास गरिसकेका कतिपय बिषय निकालेर एकथरीले हाल आफ्नो बदनाम गर्न खोजेको बताए । आफुले बुझाउनुपर्ने सबै हरहिसाब बुझाइसकेको पनि उनले बताए ।
त्यसो त उपभोक्ताहरुको पनि बेग्लाबेग्लै तर्क छ । सो वनमा कतिपय गडबडी हुँदा पार्टीका केही स्थानीय नेता मिलेर सो कुरालाई बाहिर आउन नदिइ गोप्य रूपमा मिलाउने गरेकोले यसपटक पनि अनियमितता गर्ने खतरा रहेकोले मिडियासम्म पुग्नुपरेको नाम उल्लेख नगर्ने सर्तमा स्थानीय एक उपभोक्ताले बताए । अघिल्लो पटक लालबहादुर अध्यक्ष छँदा वन समुह विरुद्ध अख्तियारमा मुद्दा समेत परेको थियो  ।