बेलबारी नगरपालिका क्षेत्रमा मंगलबार सार्वजनिक बिदा, यस्तो छ कारण

  • १४ पुष २०७६, सोमबार

गुरुङ समुदायको चाड तमु ल्होसारको अबसरमा पुस १५ गते मंगलबार बेलबारी नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

गुरुङ समुदायहरूको ठूलै जनसंख्या रहेको बेलबारीमा नगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको हो । गुरुङ समुदायले लामो समयदेखि तमु ल्होसारमा सार्वजनिक बिदा दिन माग गर्दै आएको र सो माग जायज भएकोले तमु ल्होसारको दिन मंगलबार नगरपालिका क्षेत्रभर सार्वजनिक बिदा दिने निर्णय गरिएको बेलबारी नगरपालिका मेयर ज्ञानेन्द्र सुवेदीले बताए  ।

कुल जनसंख्याको ५७.१३ प्रतिशत आदिवासी जनजाति रहेको बेलबारी नगरपालिकामा गुरुङ समुदायको जनसंख्या समेत उल्लेख छ । बेलबारीमा रहेको तमु गुम्बा पुर्वका गुरुङ समुदायको जमघट हुने ठुलै गुम्बा मानिन्छ ।  तमु गुम्बा परिसर र त्यहाँ रहेको सभाहलमा विभिन्न संघ संस्थाको कार्यक्रम गर्ने थलो समेत बन्ने गरेको छ ।

तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद्, मोरङ जिल्लाका अध्यक्ष मन कुमार गुरुङले गुरुङ समुदायको माग बमोजिम तमु ल्होसारको दिन सार्वजनिक बिदा दिएकोमा नगरपालिकालाई धन्यवाद छन् । धिमाल जातिलाई पहिलो जाती घोषणा गरेको बेलबारी नगरपालिकाले धिमाल जातिको ठुलो चाडमा समेत सार्वजनिक बिदा दिने गरेको छ ।