पाँच महिनामा १ करोड ६५ लाख राजश्व उठायो बेलबारी प्रहरीले, पाँच बर्षकै रेकर्ड तोडेको दाबी

  • २५ पुष २०७६, शुक्रबार

बेलबारी, माेरङ/  ईलाका प्रहरी कार्यालय बेलबारीले पाँच महिनाकाे अवधिमा विभिन्न शीर्षकमा १ करोड ६५ लाख भन्दा बढी राजश्व संकलन गरेको छ ।

प्रहरीले शुक्रबार  सुन्दरहरैँचा नगरपालिकाको हसिना सभाहलमा  समुदायसँग प्रहरी अन्तर्गत एक कार्यक्रम गरी यो तथ्यांक सार्वजनिक गरेको हो ।

प्रहरीले प्रत्येक महिनामा जनप्रतिनिधी साथै अन्य सामाजिक संघ सस्थासँग पालिकास्तरीय प्रहरी समुदाय साझेदारी कार्यक्रम गर्दै आइरहेको छ ।

ईलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरिक्षक गुणराज बुढाथोकीले पांँच वर्ष यताकै बढी राजश्व संकलन गरेको दाबी समेत गरेका छन ।

उनले पछिल्लो समय मोबाइल र मोटरसाइकल चोरीको घटना बढ्दै गएका कारण जिल्ला प्रहरी कार्यालय मोरङले अप्रेशन ट्र्याप अभियान सञ्चालन गरी मोबाइल र मोटरसाइकल चोरी गर्ने व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन सफल भएको कार्यक्रममा बताएका थिए ।

कार्यक्रममा उपस्थित भएका अधिकांश व्यक्तिहरुले प्रहरीले विभिन्न घटनामा प्रहरीबाट भएका कमिकमजाेरीकाे वारेमा वताउदै प्रहरीले टोलल टोलमा प्रहरी समुदाय सग कार्यक्रम चलाउनु पर्ने, प्रहरी हुने खाने र धनी वर्गको लागि मात्र नभएको सबैका लागि हाे भन्ने भावनाकासाथ काम गर्नुपर्ने वताएका थिए ।

कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकालले यस नगरको शान्ती सुरक्षा प्रहरीले व्यवस्थित तरिकाबाट गरेको बताउदै प्रहरीको प्रशंसा गरेका थिए । उनले प्रहरीले दिएको राजश्व तथ्यांक  हेर्दै अहिले सम्मकै अत्यन्तै उपलब्धिमुलक रहेको बताएका थिए ।

उनले अपराधिक घटनाहरुको विषयमा सुन्दरहरैचा शान्ति क्षेत्र रहे पनि अहिले चोरीको घटनाहरु दिनप्रतिदिन बढ्दै गएको बताउदै प्रहरीको ध्यानाकर्षण गराएका थिए । उनले पछिल्लो समय ईलाका प्रहरी कार्यालय बेलबारीमा प्रोफेसनल प्रहरीको उपस्थिले पनि यस क्षेत्रको शान्ति सुरक्षा मजबुत रहेकाेमा खुसी व्यक्त गरे ।

साे अवसरमा सुन्दरहरैंचा नगरपालिकाका उपप्रमुख धनमाया तामाङ, प्रमसख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल  तथा नगरकार्यपालिका सदस्यहरुकाे पनि सहभागिता रहेकाे थियाे ।