केराबारी गाउँपालिका वडा नम्बर ४, ६, ७ र ९ का कार्यालय भवन बन्दै

  • २८ पुष २०७६, सोमबार

 मोरङको केराबारी गाउँपालिकाका तीनवटा वडा कार्यालय भवन बन्ने भएका छन् ।

आफ्नै वडा कार्यालय नभएका वडाका लागि भवन बनाउन केन्द्रिय सरकारले केही बजेट बिनियोजन गरेपछि ती वडा कार्यालय बन्ने भएका हुन् । 

भवन निर्माण हुने वडामा वडा नम्बर ९, ६ र ७ छन् । प्रत्येक वडा कार्यालय भवन निर्माणका लागि १ करोड ३३ लाख बजेटको लागत इष्टिमेट गरिएको छ । केराबारी गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीका अनुसार करिब १ करोडमा ठेक्का लाग्ने अनुमान गरिएको भवन निर्माणका लागि केन्द्रिय सरकारले ५० लाख रुपैयाँ उपलब्ध गराउने छ ।

समपुरक बजेट अन्तरगत यस बर्ष केन्द्रिय सरकारले २० लाख उपलब्ध गराएको र अर्को बर्ष थप ३० लाख उपलब्ध हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको बजेट समेत थप गरी यसै बर्ष तिनवटै वडाका कार्यालय निर्माण शुरु गरिने कार्कीले बताए । तीनवटै वडा कार्यालयहरु अढाई तले हुनेछन् । ती वडा कार्यालय भवनहरु निर्माणका लागि गाउँपालिकाले टेण्डर प्रक्रिया शुरु गरिसकेको छ ।

 केराबारी ९ को घँघरुमा वडा कार्यालय निर्माणका लागि दाताले ५ कठ्ठा जग्गा दिएका छन् । वडा नम्बर ६ र ७ को वडा कार्यालय बन्ने स्थानको समेत टुंगो लागिसकेको गाउँपालिकाले जनाएको छ । 

त्यसो त केराबारी ४ को वडा कार्यालय भवन निर्माणकार्य अघिल्लो बर्षबाट नै शुरु भइसकेको छ । हाल सो भवन निर्माणाधीन अबस्थामा छ । 

केराबारी गाउँपालिकाको वडा नम्बर १,२ र ५ का आफ्नै भवन छन् । साविक सिंहदेवी, पाटी र याङ्सिला गाबिसका भवनमा ती वडा कार्यालय रहेका हुन् । अन्य चारवटा वडाका भवन बन्न लागेपनि वडा नम्बर ३, ८ र १० का वडा कार्यालयहरु भाडाको घरबाट सञ्चालन भइरहेका छन् ।  वडा नम्बर १० को कार्यालय गाउँपालिका नयाँ भवनमा सरेपछि हाल गाउँपालिका रहेको भवनमा रहने भएकोले वडा नम्बर ३ र ८ मात्र वडा कार्यालय भवनबिहिन हुने गाउँपालिकाले जनाएको छ ।