भुकम्प प्रतिरोधात्मक घर तथा भवन निर्माणका लागि बेलबारीमा गरियो सचेतना कार्यक्रम

  • २ माघ २०७६, बिहीबार

बेलबारी नगरपालिकाले भुकम्प प्रतिरोधात्मक घर निर्माण सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

२२ औं भुकम्प सुरक्षा दिवसको सन्दर्भमा बिहीबार आयोजित कार्यक्रमका सहभागीले भुकम्प प्रतिरोधात्मक घर तथा भवन निर्माणमा जोड दिएका हुन् ।

नगरपालिकाले गरेको भुकम्प सम्बन्धि सचेतना कार्यक्रमका सहभागीहरुले भुकम्प तथा अन्य दैविक प्रकोपबाट बच्ने खालका संरचना निर्माणका लागि निर्माण व्यवसायीले ध्यान दिन आग्रह गरिएको छ ।

कार्यक्रममा बोल्दै उपमेयर ढाका कुमारी पराजुलीले दक्ष जनशक्ति तथा प्राविधिकहरुले निगरानी गरेर संरचनाहरु बनाउँदा धनजनको क्षति हुने सम्भावना कम रहेको बताईन् । प्राकृतिक प्रकोप तथा बिपदको पुर्व तयारीका लागि नगरपालिकाले यस बर्ष ४० लाख बजेट छुट्याएको बताउँदै उनले बिपतको पुर्व तयारीका लागि चाँडै आवश्यक सामग्रीहरु खरिद गर्ने बताइन् ।

उनले निर्माण ब्यबशायीहरुसँग नगरपालिकाले अन्तरक्रिया तालिम आयोजना गर्ने योजना रहेको बताउँदै उनले निर्माण मजदुरहरुको हक हित तथा पेशागत सुरक्षामा नगरपालिकाले ध्यान दिने बताइन् ।

त्यस्तै घर बनाउँदा सावधानी नअपनाएकै कारण क्षति हुने गरेको प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहले बताए । बैँकबाट ऋण लिनका लागि मात्रै नक्सा पास गरेर घर बनाइने गरेको समेत उनले बताए । शाहले घर बनाउँदा नगरपालिका बाट नक्सा पास गराएर मात्रै घर बनाउन आग्रह गरे । बेलबारी नगरपालिकाका प्रबक्ता योगेन्द्र सुवेदीले संरचना बनाउँदा दक्ष जनशक्तिको प्रयोग गर्नु पर्नेमा जोड दिए ।
नगरपालिकाका भवन नियमन शाखाका प्रमुख इनजिनियर बिरेन्द्र गिरीले स्थान छनौट,भित्ता, झ्याल ढोका, पिलर तथा बिम बनाउंँदा  ध्यान दिनुपर्ने कुराहरू प्रस्तुत गरे । कार्यक्रममा निर्माण व्यावसायी, कन्सलटेन्सी, सुरक्षा निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।