अमरदहमा नोबेलको नि:शुल्क स्वास्थ्य शिविर, हजारभन्दा बढी बिरामी लाभान्वित

  • १३ माघ २०७६, सोमबार

नोबेल शिक्षण अस्पतालले मोरङको सुनबर्षी नगरपालिका–२ अमरदहमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार १ सय २२ जना बिरामी लाभान्वित भएका छन् ।

अमरदहस्थित वीरेन्द्र सार्वजनिक माध्यमिक बिद्यालयसँगको सहकार्यमा गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा २ सय १ जनाको भिडियो एक्सरे, १ सय ६५ जनाको ल्याव टेष्ट र १ सय १० जनाको ईसीजी गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

सो शिविरमा सुनबर्षी नगरपालिकाका बिभिन्न वडासहित रतुवामाई नगरपालिका र पथरीशनिश्चरे नगरपालिका क्षेत्रका बिरामीहरु पनि उपचारका लागि आएका थिए ।

शिविरमा जेनेरल मेडिसिन, स्त्री, हाडजोर्नी तथा नसा, बाल, मानसिक, दन्त बिभागका बिशेषज्ञ डाक्टरसहित १५ जना स्वास्थ्यकर्मीको टोली खटिएको थियो । नोबेलले पूर्वी नेपालका बिभिन्न स्थानमा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।