सिद्वार्थ सेकेन्डरी स्कुल २५ औं बर्षमा, विभिन्न कार्यक्रम गरी रजत जयन्ती मनाइँदै

सिद्धार्थ स्पोर्ट्स मिट शुरु, तीन दर्जन खेलमा एक हजारभन्दा बढी छात्रछात्राले प्रतिस्पर्धा गर्ने

  • २१ माघ २०७६, मंगलवार

मोरङको सुन्दरहरैंचा १० खाेर्सानेमा अबस्थित सिद्वार्थ सेकेन्डरी स्कुलले स्थापनाको २५ औं बार्षिकोत्सव अर्थात रजत जयन्ती  मनाउने क्रममा विभिन्न कार्यक्रम गरेको छ । 

एक महिनासम्म विभिन्न कार्यक्रम गरी रजत जयन्ती मनाउने क्रममा पहिलो चरणमा सिङ्गिङ आइडल, डान्सिङ आइडल र पब्लिक स्पिकिङ कार्यक्रम सम्पन्न गरेको स्कुलले माघ २० गते अर्थात मंगलबारदेखि दोस्रो चरण अन्तरगत चार दिने स्पोर्ट्स मिट शुरु गरेको  छ । 

स्कुलले यसअघि गरेको सिद्धार्थ डान्सिङ आइडलमा जुनियरतर्फ सिवाङ राई प्रथम, पल्पसा श्रेष्ठ द्वितीय र सायुसा योन्जन तृतीय भएका छन् । त्यस्तै सिङ्गिङ आइडलको सिनियरतर्फ कृष्टिना राई, आयुसा श्रेष्ठ र मौसम लिम्बु प्रथम द्वितीय र तृतीय भएका छन् । 

त्यसैगरी सिङ्गिङ आइडलमा जुनियरतर्फ करिना कार्की, सोनिया दर्नाल र जोसन परियार तथा सिनियरतर्फ अलिमा लिम्बु, प्रान्जली ढुंगाना र नुमा कुरुङ्वाङ क्रमशः प्रथम द्वितीय र तृतीय भएका छन् ।

पहिलो चरणको कार्यक्रम अन्तरगत भएको सिद्धार्थ पब्लिक स्पिकिङ प्रतियोगितामा अभिनव बस्नेत प्रथम, स्मृति खड्का द्वितीय र अनुभव बस्नेत तृतीय भएका छन् ।

सिद्धार्थ स्पोर्ट्स मिट शुरु

रजत महोत्सवको दोस्रो चरणको कार्यक्रम अन्तरगत मंगलबारदेखि चार दिने सिद्धार्थ स्पोर्ट्स मिट शुरु भएको छ ।

सिद्धार्थ स्कुलकै खेल मैदानमा शनिबार एक कार्यक्रमबिच प्रदेश सभासद राजकुमार ओझाले ‘स्पोर्ट्स मिट’ को उद्घाटन गरेका छन् । राजकुमार ओझाको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा सामाजिक ब्यक्तित्व भक्तकिरण राई लगायत केही संघ संस्थाका प्रतिनिधिको पनि आतिथ्यता थियो । अभिभावकहरुको समेत बाक्लो उपस्थितिमा भएको उद्घाटन कार्यक्रममा अभिभावकहरुबिच पनि म्युजिकल चेयर र हाँडीफोर जस्ता खेलहरु पनि खेलाइएको थियो ।

मंगलबार शुरु भई शुक्रबारसम्म चल्ने ‘सिद्दार्थ स्पोर्ट्स मिट’ मा भलिबल, फुटबल, बास्केटबल, टेबल टेनिस, ब्याडमिन्टन, टेबुल सकर, तातो आलु, डोरितान, कपर्दी,ककफाइट, रिले रेस, ज्याब्लिङ, सर्टफुट, हाइ जम्प, लङजम्प तथा  एथलेटिक्सतर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर र १५ सय मिटरका दौड समेत गरी ३० भन्दा बढी खेलमा प्रतिस्पर्धा हुने प्याब्सन मोरङका अध्यक्ष तथा सिद्धार्थ सेकेण्डरी स्कुलका प्रिन्सिपल अर्जुन बस्नेतले बताए ।

पुर्व विद्यार्थी मिलन र शैक्षिक प्रदर्शनी पनि हुने 

रजत महोत्सवका कार्यक्रम अन्तरगत यही माघ २८ र २९ गते साहित्यिक कार्यक्रम, चित्रकला कार्यशाला र पुर्व विद्यार्थी मिलन कार्यक्रम हुनेछन् । त्यसैगरी चौथो चरणमा फागुन ७ र ८ गते सांस्कृतिक कार्यक्रम, शैक्षिक प्रदर्शनी, सम्मान कार्यक्रम र स्मारक अनावरण कार्यक्रम गरिएपछि रजत महोत्सवका कार्यक्रम समापन हुने बस्नेतले जानकारी दिए ।

  एलइडी र प्रोजेक्टर मार्फत पठनपाठन गराइंँदै 

 सुन्दरहरैँचा क्षेत्रको उत्कृष्ट विद्यालयका रुपमा परिचित विद्यालयमा मन्टेस्वरीदेखि कक्षा १२ सम्मको पढाइ हुदै आएकाे छ ।  विद्यालयमा हाल १३ सय विद्यार्थी छन् । माध्यमिक तहको +२ तर्फ हाेटल मेनेजमेन्ट, कम्प्युटर साइन्स ,ट्राभल एण्ड टुरिजम, विजनेस जस्ता बिषयमा पठनपाठन हुँदै आएको छ  ।

 विद्यालयका सबै कक्षा कोठामा सिसि क्यामेरा जडान गरिएको छ । अघिल्लो  शैक्षिक शत्रदेखि डिजिटल प्रबिधिबाट पठनपाठन थालेको विद्यालयले आगामी शैक्षिक शत्रदेखि सबै कक्षामा डिजिटल प्रबिधिबाट पठनपाठन हुने सहायक प्रिन्सिपल जेबी थुलुङले बताए । उनका अनुसार कक्षा ५ सम्म ५२ इन्चको टीभी र कक्षा ६ भन्दा माथि प्रोजेक्टर मार्फत पठनपाठन गराइनेछ । हाल माथिल्ला कक्षाहरुमा डिजिटल प्रविधिबाट पठनपाठन हुँदै आएको छ । – अम्बिका भण्डारी