बेलबारीमा शुरुभो आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव, मुख्यमन्त्रीद्वारा उद्घाटन

अम्बिका भण्डारी

  • १७ फाल्गुन २०७६, शनिबार

मोरङको बेलबारीमा आयोजना गरिएको आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव २०७६ शुरु भएको छ ।

नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय समिति बेलबारीको आयोजनामा फागुन १७ गतेदेखि २४ गतेसम्म हुने महोत्सवको शनिबार मुख्यमन्त्री शेरधन राइले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा आदिबासी जनजाति महासंघमा आबद्ध विभिन्न जातजाति तथा शैक्षिक संस्थाहरुले झाँकी प्रदर्शन गरेका थिए । उद्घाटन हुनुअघि विभिन्न जातजातिहरुले झाँकीसहित बेलबारी बजार परिक्रमा गरेका थिए । विभिन्न जातिय रितिरिवाज र परम्परा अनुसार जातीय भेषभुषा र बाजागाजासहित पुरानो बेलबारीबाट शुरु भएको जातजातिको झाँकी बजार परिक्रमा गरी महोत्सवस्थल पुगेको थियो ।

‘आन्तरिक पर्यटन मार्फत संस्कृतिको प्रबर्द्धन गरौं, नेपाल भ्रमण बर्ष २०२० लाई सफल पारौं’ भन्ने नारासहित आयोजित महोत्सवको उद्घाटन कार्यक्रममा प्रदेश १ का प्रदेश सभाषद राजकुमार ओझा, बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी, उपमेयर ढाकाकुमारी पराजुली, सामाजिक बिकास मन्त्री, उद्योग तथा वन मन्त्री लगायत अन्य स्थानीय तहका प्रतिनिधि, विभिन्न संघ संस्था र दलका प्रतिनिधि रबेलबारी नगरका वडाध्यक्षहरुको पनि उपस्थिति थियो । महासंघ बेलबारीका अध्यक्ष तिलकप्रसाद राइको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको संचालन जेबी थुलुङले गरेका थिए ।

आयोजक आदिबासी जनजाति महासंघमा आवद्ध राई, लिम्बू, गुरुङ, तामाङ, नेवार, माझी, धिमाल, राजबंशी, याख्खा, सुनुवार, भुजेल, दनुवार, उराव, मगर, थारू र खवास गरी १६ वटा जातजातिका अलावा आर्य, शिल्पी समुदायका समेत स्टलहरु छन् । २१ वटा नि:शुल्क स्टलहरु रहने र जातीय स्टलहरुमा संस्कार, संस्कृतिका अलावा जातजातिका खानाका मौलिक परिकारहरु रहने आयोजक नेपाल आदिबासी जनजाति महासंघ बेलबारीका सचिव मनकुमार गुरुङले जानकारी दिए ।

महोत्सवमा आदिवासी र जनजाति समुदायका जातजातिलाई निशुल्क स्टल दिइनुको साथै जातीय मौलिकता प्रबर्द्धन गर्न प्रोत्साहन स्वरुप ३० हजार समेत उपलब्ध गराइएको र उद्घाटनको दिन प्रत्येक समुदायको लागि आवतजावत गर्न छुट्टाछुट्टै गाडीको समेत ब्यबस्थापन गरिएको महोत्सव आयोजक समितिका संयोजक तथा नेपाल आदिबासी जनजाति महासंघ बेलबारीका अध्यक्ष तिलकप्रसाद राइले बताए ।

महोत्सवमा राखिने जातीय स्टलहरु मार्फत जात जातिका मौलिक परम्परा, संस्कार, रहनसहन र खानपिनको प्रबर्द्धनका लागि तीन तहकै सरकारहरुको ध्यानाकर्षण गराउने लक्ष्य लिइएको छ ।
महोत्सव आयोजक समितिका संयोजक तथा नेपाल आदिबासी जनजाति महासंघ बेलबारीका अध्यक्ष तिलकप्रसाद राइका अनुसार जनजाति एबम पिछडिएका जाती समुदायले महोत्सवमा राखिएका स्टलबाट गरेको आम्दानीबाट कोष खडा गरी उनीहरूकै जातीय बिकासमा लगाउन प्रोत्साहन गरिनेछ । त्यसैगरी जातजातिको मौलिक खानपिनलाई आर्गानिक बनाउने र त्यसलाई ब्यबशायिक बिकास गरी आय आर्जनको श्रोत बनाउन प्रेरित गर्ने उद्देश्य पनि लिइएको राइले बताए ।

महोत्सव अबधिभर दिउँसो महासंघमा आवद्ध सबै जाति तथा समुदायको दैनिक प्रस्तुतिहरु हुनेछन् । महोत्सवमा हरेक साँझ राजेश पायल राइ, प्रमोद खरेल, शिव परियार, आस्था राउत, मनोज गजुरेल, सन्दीप क्षेत्री, सत्यकला राइ, पार्वती राई, कृष्णभक्त राइ, अस्मिता अधिकारी, साजन राई, भीषण मुकारुङ, मेचु धिमाल रुपकुमार राई, तृष्णा गुरुङ, सुनिता थेगिम लगायत पुर्वेली तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
उद्घाटनको दिन शनिबार कृष्णभक्त राई, सत्यकला राई, रुपकुमार राई, भीषण मुकारुङ लगायतका कलाकारहरुको प्रस्तुति रहनेछ ।

महोत्सवमा ३४ वटा स:शुल्क तथा २१ वटा नि:शुल्क गरी ५५ वटा स्टलहरु छन् । आयोजकका अनुसार महोत्सवमा मौलिक खानपिनका परिकारका अलावा कृषि तथा उद्योगबाट उत्पादित सामग्री, अटोमोबाइल्स, होटल लगायत विभिन्न खाले स्टलहरु रहेका छन् ।
महोत्सवलाई नेपाल आइसले मुुुख्य प्रायोजन गरेको छ भने चौधरी ग्रुपले प्रायोजन गरेको छ । त्यसैगरी महोत्सवमा एनएमबी बैंक, बेतना सिमसार, कानेपोखरी बी एण्ड बी कन्स्ट्रक्सन र सयपत्री मल्टिपर्पोज कम्पनी महोत्सवका सह-प्रायोजक छन् । बेलबारी नगरपालिका र प्रदेश १ को उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालय महोत्सवको मुख्य प्रबर्द्धक छन् । महोत्सवमा हस्पिटालिटी पार्टनर ड्रीमल्याण्ड फन, बीवाइक्यु ट्रान्सपोटेसन पार्टनर, बेलबारीमा रहेका आधा दर्जन बैंकहरु बैकिङ पार्टनर, आधा दर्जन स्कुलहरु एजुकेसन पार्टनर छन् । महोत्सवका लागि सामुदायिक वन तथा स्थानीय संघ संस्थाहरुले पनि आर्थिक सहयोग गरेका छन् । महोत्सवमा नोबेल हस्पिटलले निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।

त्यसैगरी नागरिक, नयाँ पत्रिका, ब्लाष्ट र बेतना दैनिक तथा रेडियो बेतना, पुर्वेली डटकम, उज्यालो प्रदेश डटकम, कोसी नेपाल टीभी, सताब्दी न्युज डटकम र सार्वजनिक डटकम महोत्सवको मिडिया पार्टनर छन् ।

स्मरण रहोस् आदिबासी जनजाति महासंघ बेलबारीले गत बर्ष पनि बेलबारी नगरपालिकाको सहयोगमा आदिबासी जनजाति फुड फेस्टिबल आयोजना गरेको थियो ।