बेलबारीमा जारी आदिवासी जनजाति महोत्सव, जहाँ छन् डेढ दर्जन साँस्कृतिक स्टल

  • १९ फाल्गुन २०७६, सोमबार

सामान्यतया मेला वा महोत्सव भन्ने बित्तिकै स्टल बिक्री गरेर आयोजकले आम्दानी जुटाउने एउटा माध्यम भन्ने बुझिन्छ । हुन पनि महोत्सव आयोजना गर्ने आयोजकको आम्दानीको एउटा श्रोत स्टल बिक्री पनि हो तर आन्तरिक पर्यटन मार्फत संस्कृतिको प्रबर्द्धन गर्ने र पर्यटन प्रबर्द्धनमा सेवा पुर्याउने उद्देश्यले मोरङको बेलबारीमा आयोजित आदिबासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सवमा जम्मा ५५ स्टलहरु मध्ये २१ स्टलहरु नि:शुल्क दिइएका छन् । 

हो, बेलबारी नगरपालिकाको सहयोगमा आदिबासी जनजाति महासंघ बेलबारीले आयोजना गरेको महोत्सवमा आवद्ध राई, लिम्बू, गुरुङ, तामाङ, नेवार, माझी, धिमाल, राजबंशी, याख्खा, सुनुवार, भुजेल, दनुवार, उराव, मगर, थारू र खवाससहित १६ वटा जातजाति तथा आर्य, शिल्पी समुदायले नि:शुल्क स्टल राख्न पाएका छन् । महोत्सवमा कुल ५५ मध्ये ३४ वटा स्टलहरु मात्रै स:शुल्क छन् , बाँकी २१ वटा निशुल्क ।
त्यतिमात्र होइन, नि:शुल्क दिइएका विभिन्न जाति वा समुदायका स्टलहरुलाई आयोजकले प्रोत्साहन स्वरुप ३० हजारका दरले नगद पनि दिएको छ । अझ महोत्सवको कमाइ पनि स्टल राख्नेहरुकै हुनेछ ।

हुन पनि बेलबारीमा भइरहेको आदिबासी जनजाति महोत्सव अरु महोत्सवभन्दा बिल्कुल भिन्न छ । महोत्सवमा ब्यापार वा नाफालाइ होइन, संस्कार र संस्कृतिलाई महत्त्व दिइएको छ ।

महोत्सव स्थलभित्र राई, लिम्बू, गुरुङ, तामाङ, नेवार, माझी, धिमाल, राजबंशी, याख्खा, सुनुवार, भुजेल, दनुवार, उराव, मगर, थारू र खवाससहित १६ वटा जातजाति तथा आर्य, शिल्पी समुदायले राखेका परम्परागत वा संस्कारयुक्त स्टलहरु छन्, जसले सबैको ध्यान खिच्ने गरेको छ । दैनिक बेलुकी आउने कलाकारहरुको रमिता र बाल उद्यानको रमाइलो त छँदैछ, त्यहाँ सबैजसो स्थानीय जातजातिका घर तथा घरायसी सामग्री, पहिरन, कुल संस्कार वा रितिरिवाज झल्काउने सामग्री र मौलिक खानपिनका सामग्री पनि छन् ।

आदिवासी र जनजाति समुदायका जातजातिलाई निशुल्क स्टल दिइनुको साथै जातीय मौलिकता प्रबर्द्धन गर्न प्रोत्साहन स्वरुप ३० हजार समेत उपलब्ध गराइएको र उद्घाटनको दिन प्रत्येक समुदायको लागि आवतजावत गर्न छुट्टाछुट्टै गाडीको समेत ब्यबस्थापन गरिएको महोत्सव आयोजक समितिका संयोजक तथा नेपाल आदिबासी जनजाति महासंघ बेलबारीका अध्यक्ष तिलकप्रसाद राइले बताए ।

महोत्सव मार्फत जात जातिका मौलिक परम्परा, संस्कार, रहनसहन र खानपिनको प्रबर्द्धनका लागि तीन तहकै सरकारहरुको ध्यानाकर्षण गराउने लक्ष्य लिइएको छ ।
महोत्सव आयोजक समितिका संयोजक तथा नेपाल आदिबासी जनजाति महासंघ बेलबारीका अध्यक्ष तिलकप्रसाद राइका अनुसार जनजाति एबम पिछडिएका जाती समुदायले महोत्सवमा राखिएका स्टलबाट गरेको आम्दानीबाट कोष खडा गरी उनीहरूकै जातीय बिकासमा लगाउन प्रोत्साहन गरिनेछ । त्यसैगरी जातजातिको मौलिक खानपिनलाई आर्गानिक बनाउने र त्यसलाई ब्यबशायिक बिकास गरी आय आर्जनको श्रोत बनाउन प्रेरित गर्ने उद्देश्य आयोजकको छ ।