महिला हिंसा र बच्ने उपायबारे बिराटचोकमा गरियो अन्तरक्रिया एवम् सचेतना कार्यक्रम

  • २६ फाल्गुन २०७६, सोमबार

‘समानताको पुस्ता : अन्त्य गरौं हिंसा, विभेद र असमानता’ भन्ने नाराका साथ ११० औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा महिला हिंसा विषयक अन्तरक्रिया एवम् सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

के.आई.एफ. कुरोदय मार्सल आर्टस संघ सुन्दरहरैंचाले शनिबार कार्यक्रम गरेको हो । नेपाली समाजमा कस्ता महिला हिंसा छन्, हिंसा हुनुका कारण के के हुन्, हिंसा भएमा के गर्ने, हिंसा न्यूनीकरण गर्न के गर्ने, महिला अधिकार वा सशक्तीकरण किन आवश्यक छ, हिंसाका दोषी को हुन सक्छन्, हिंसाबाट वच्न के गर्ने, कसरी आत्मरक्षा गर्ने सम्बन्धमा संघले अन्तर्कृया गरेको हो ।

समाजमा बलात्कार, दाइजो प्रथा, देउकी प्रथा, बोक्सी, छुवाछुत, श्रम शोषण, लैंगिक विभेद जस्ता विभिन्न महिला हिंसाहरु बिधमान रहेको र महिलाहरुमा शिक्षाको कमि, शारीरिक रुपमा महिला कमजोर हुनु, आत्मसक्षम नहुनु, पुरुष प्रधान समाज, सशक्तीकरणको अभाव, मादक पदार्थ सेवन, परम्परागत मान्यता, कुरिती, धार्मिक प्रचलन आदि कारणले महिला हिंसाहरु थुप्रै हुने गरेको अन्तरक्रियाले निष्कर्स निकालेको छ ।

कार्यक्रममा कुनैपनि प्रकारको हिंसाको प्रतिकार र त्यसको कानुनी उपचार, महिला र पुरुष दुबैबीच हातेमालो, सामुहिक सोच, एक आपसमा सम्मान एवम् सद्भाव र पुरुषवादी एकल सोचको अन्त्य, अधिकार र सशक्तिकरणले महिलाहरुको लागि हुने सामाजिक सहजता, घरेलु एवम् सामाजिक महिला हिंसा तथा पुरुष वा  महिलाबाटै हुने महिला हिंसा, हिंसाबाट बच्न अपनाउनुपर्ने  सावधानी, सामाजिक सचेतना, सशक्तीकरण  र आत्मरक्षा  सिप जस्ता बिषयमा पनि छलफल भएको थियो ।

मिलन घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा कुरोदय मार्सल आर्टस संघ प्रदेश न. १ प्रमुख प्रशिक्षक प्रकाशमान बस्नेत प्रमुख अतिथी थिए भने सामाजिक अभियान्ता एवम् माइती नेपाल सुन्दरहरैचाकी सचिव दिपा अधिकारी, कुरोदय बेलबारीकी अध्यक्ष शितल राय, महिला व्यवसायी पदमा भट्टराई, महिलाकर्मी एवम् नाटककार बिमला कार्कीडोली, हिंसा पिडित तुलसा पौडेल लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा मिलन घिमिरे, माइती नेपाल सुन्दरहरैचाकी सचिव दिपा अधिकारी,  महिला ब्यवसायी पद्मा भट्टराई लगायतले पनि बोलेका थिए  । 

कार्यक्रममा विभिन्न सचेतनामुलक सांस्कृतिक नृत्य, गित तथा प्रोजेक्टरबाट भिडियोहरु समेत देखाइएको थियो । ज्ञानु घिमिरे, बिनिता अधिकारी, मोनिका ढकाल, रन्जित दास, तुलसा पौडेल, प्रमोद गेलाल लगायतले महिला हिंसा बिषयमा आफ्नो सान्दर्भिक धारणा समेत प्रस्तुत गरे ।

सुन्दरहरैचा भरका युवा तथा महिलाहरुको उपस्थितीमा सम्पन्न भएको कार्यक्रम माइक्रो एकेडेमीको हल बिराटचोकमा संचालन भएको हो । प्रत्येक बर्ष मार्च ८ लाई विभिन्न कार्यक्रम गरी अन्तरास्ट्रिय नारी दिवसको रुपमा मनाउदै आइएको छ ।