नोबेलले सुरु गर्यो ‘फेस डिटेक्टर’ प्रबिधि, अनुहार हेरेर मेसिनले नै गरिदिन्छ हाजिरी
- ९ चैत्र २०७६, आईतवार
विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणप्रति सावधानी अपनाउँदै नोबेल शिक्षण अस्पतालमा कर्मचारीको हाजिरी गर्ने तरिका परिवर्तन गरिएको छ ।
नोबेलले बायोमेट्रिक हाजिरी बन्द गरेर ‘फेस डिटेक्टर’ हाजिरी सुरु गरेको हो । करिव १ हजार ७ सय कर्मचारी कार्यरत नोबेलमा यसअघि बायोमेट्रिक हाजिरी प्रयोग गरिदै आएको थियो । बायोमेट्रिक हाजिरीमा हरेक कर्मचारीले औठा छाप लगाउनुपर्ने हुँनाले संक्रमण फैलनसक्ने अवस्थालाई मध्यनजर गर्दै नछोई गर्न मिल्ने ‘फेस डिटेक्टर’ हाजिरी प्रयोगमा ल्याईएको अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले जानकारी दिईन् ।
‘फेस डिटेक्टर’ मा हाजिरी मेसिन नछोई अनुहार देखाएको भरमा हाजिरी हुन्छ । ‘फेस डिटेक्टर’ हाजिरी प्रयोगमा ल्याईएपछि हाजिरी मार्फत हुने संक्रमणको जोखिम टरेको भन्दै कर्मचारीहरु पनि खुशी भएका छन् । ‘फेस डिटेक्टर’ हाजिरी गर्दा प्रत्यक्ष छुनु नपर्ने हुनाले हाजिरीकै माध्यमबाट भाइरस संक्रमणको जोखिम नहुने चिकित्सकहरुको भनाई छ ।