स्वास्थ्यमन्त्रीको निर्वाचन क्षेत्रमै : उपचार खर्च तिर्न नसक्दा अस्पतालमै कुहिन लाग्यो शब
- १४ चैत्र २०७६, शुक्रबार
मोरङको विराटनगर अस्पतालले उपचारका क्रममा मृत्यु भएका पथरी शनिश्चरेका दिपक लिम्बुको शवलाई फोहोरमैला राख्ने स्थलमा फालिदिएको छ ।
मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का २७ वर्षीय दीपक लिम्बूको शबलाइ अस्पतालले बेवारिसे बनाएर फालेको हो । छिमेकी तीनजनाको कुटपिटबाट घाइते भएका उनलाई अघिल्लो हप्ता बिराटनगर अस्पतालमा लगिएको थियो । उपचार गराउँदा गराउँदै चैत १३ गते बिहान ६ बजे उनको मृत्यु भएको थियो ।
सात दिनको उपचारमा औषधी र ल्याब बाहेक अस्पतालले उपचार खर्च ३ लाख ८० हजारको बिल उठाएको छ ।
आर्थिक अवस्था कमजोर भएको कारण अस्पतालको बिल तिर्न नसक्दा दीपक लिम्बूको शव २ दिनदेखि घामले भेट्ने ठाउँमा फालिदिएको मृतककी बहिनी मनु लिम्बूले बताइन् ।
अस्पतालमा जानासाथ पैसा तिर्न धम्क्की दिंँदै हप्कीदप्की हुन थालेपछि मनु अस्पताल परिसरभन्दा बाहिरै बस्दै आएकी छन् ।
उनलाई भित्र पस्नासाथ अपमानित शब्द प्रयोग गर्ने गरिएको छ ।
शुक्रवार बिहान ज्वाइँ गंगाबहादुर लिम्बूलाई हेर्न पठाउदा दाजु दीपकको शव बाहिर फालिएको अवस्थामा रहेको पाइएको मनुले बताइन् । मनुले भनिन् “बरु कुकुर, बिरालोको मरण सम्मानजनक होला । मेरो दाईको अनुहार हेर्न पाउनु त कता हो कता बाहिर फालिदिएको रहेछ ।”
अस्पतालले यसअघि पनि पैसा नतिरे सडक फालिदिने धम्की दिएको मनुले सुनाइन् । नकुहियोस् भनेर शव राख्ने ठाउँमा राख्दिनुस् भन्दा छैन भनेर हप्काइएको उनले बताइन् ।
उपचार खर्च तिरेर शव निकाल्नका लागि वडाध्यक्ष सागर राईले व्यक्तिगत रुपमा १० हजार रुपैयाँ सहयोग गरेका छन् । हाल स्थानियबासीले आर्थिक संकलन गर्दै शव निकाल्ने प्रयास गरिरहेका छन् ।
दीपकको शव फालिएको बारेमा अस्पताल संचालक डा. ज्ञानेन्द्र गिरीलाई सम्पर्क गर्दा प्रशासन अधिकृत सुवाष पोख्रेललाई भनिदिने बताए । पोख्रेलको नम्बरमा भने फोन सम्पर्क हुन सकेन ।
यसरी मृतक शव फालिएको दीपक लिम्बूको घर संघीय स्वास्थ्यमन्त्री भानुभक्त ढकालले निर्वाचन जितेको मोरङ–३ मा पर्दछ ।
दीपकलाई कुट्ने मुस्कान राई पक्राउ परे पनि अरु दुई जनालाई इलाका प्रहरी कार्यालय पथरीले पक्रन सकेको छैन । मनुलाई दाजु कुटिएर मारिनुको पीडा त छँदैछ, शव शवगृहमा नराखी फालीदिएर अस्पतालले थप पीडा दिएको छ । – रातो कलमको सहयोगमा