इटहरी उपमहानगरको प्रकोप ब्यबस्थापन कोषमा कांग्रेसले दियो ५ हजार केजी चामल

श्रीकृष्ण प्रणामी प्रतिष्ठान नेपाल इटहरीद्वारा एकलाख एक हजारको चेक हस्तान्तरण

  • २० चैत्र २०७६, बिहीबार

इटहरी उपमहानगरमा सम्पन्न सर्वदलीय सर्वपक्षीय वैठकले उपमहानगरले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा सहयोगका लागि सवैसँग आवहान गर्ने निर्णय गरेको छ ।

इटहरी उपमहानगरका नगरप्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा वसेको वैठकले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थापना गरेको कोषमा सहयोगका लागि सवैसँग आग्रह गरेको हो । नेपाल वैक इटहरीमा रहेको कोषको खाता नम्वर ०५९०३००००००००५००४०० मा रकम सहयोगका लागि आग्रह गरिएको छ । इटहरी उपमहानगरले ८० लाख जम्मा गरि कोष खडा गरेको हो ।

वैठकले वडास्तरमा पनि सर्वदलीय सर्वपक्षीय वैठक बसी विपत राहत वितरणलाई अझ ब्यवस्थित वनाउने निर्णय गरेको छ । वैठकमा प्रदेश सांसद लिलम वस्नेत, उपमहानगर प्रमुख द्वारिकलाल चौधरी,उपप्रमुख लक्ष्मी गौतम, नेकपा इटहरीका नेताहरु राजकुमार गिरी,सागर सुवेदी वहादुर सिं तामाङ, नेपाली कांग्रेसका सभापति हेमकर्ण पौडेल,उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेल लगायतको उपस्थिति थियो।

सोही वैठकमै श्रीकृष्ण प्रणामी प्रतिष्ठान नेपाल इटहरीको तर्फवाट अध्यक्ष हेम घिमिरेले एकलाख एक हजारको चेक हस्तान्तरण गर्नुभयो ।

यसैबिच बिहीबार नै नेपाली काँग्रेस इटहरीको तर्फवाट पाँचहजार केजी चामल राहत वितरणका लागि इटहरी उपमहानगरलाई उपलब्ध भएको छ ।