उपचार गर्ने पैसा नभएर १२ बर्ष अघिदेखि थला परेका बिरामीको उद्धार गर्‍यो नोबेल अस्पतालले

  • ३ बैशाख २०७७, बुधबार

नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले उपचार गर्ने पैसा नभएर १२ बर्ष अघिदेखि थला परेका बिरामीलाई झापाबाट उद्धार गरेका छन् । झापाको बुद्धशान्ति गाउँपालिका–४ जुनेलीबस्तीका ३१ बर्षीय हस्तबहादुर दर्जीलाई सोमबार उद्धार गरेर उपचारका लागि नोबेल अस्पताल ल्याइएको हो ।

२०६४ सालमा रुखबाट लडेर मेरुदण्ड भाचिएपछि दर्जीको कम्मर भन्दा मुनिको भाग चल्न छोडेकाले उनी थला परेर बसे । ओछ्यानमै दिसा, पिसाव हुँदा पनि उपचार गर्ने पैसा नभएकाले उनी पीडादायी जीवन बिताउँन बाध्य थिए । दर्जीले भने–‘उपचार गर्ने पैसा नहुँदा आफ्नो नाममा भएको एक कठ्ठा जग्गा पनि मास्नु पर्यो । त्यो पैसाले पनि नपुगेपछि केहि सिप नलागेर १२ बर्ष अघिदेखि ओछ्यान परेको हुँ ।’ बर्षौ अघिदेखि उठ्न नसकेर सुतिरहदा उनको शरिरको पछाडीको अधिकांस भागमा घाउ छ । घाउ निश्किने र पाक्ने क्रम चलिरहदा उनी दुर्गन्धित अवस्थामा थिए । खुट्टा लगायत शरिरका अन्य भागको छाला पनि उक्किन थालिसकेको छ ।

दर्जीको यस्तो पीडादायी अवस्था थाहा पाएपछि बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेश कुमार भुजेलले उनको उपचारका लागि पहल गरेका हुन् । अध्यक्ष भुजेलले दर्जीको पीडादायी अवस्था जानकारी गराएपछि डा.शर्माले उनलाई नोबेल अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका छन् । कांग्रेस महासमिति सदस्यसमेत रहेका डा.शर्माले यसअघि पनि यस्ता सयौं बिरामीलाई उद्धार गरिसकेका छन् । गरिब, बिपन्न तथा उपचार गर्ने पैसा अभावमा तड्पिरहेका बिरामीहरुलाई डा.शर्माले निःशुल्क उपचारको व्यवस्था मिलाई समाजसेवालाई निरन्तरता दिदै आएका छन् ।