भुतबङ्गालामा परिणत भो ४५ करोडको लगानीमा सुन्दरहरैँचामा निर्मित औषधि कारखाना

सञ्चालन हुने ब्यबस्था मिलाउन स्थानीय बासिन्दाको माग

  • ११ जेष्ठ २०७७, आईतवार

केशु विरही, सुन्दरहरैंचा, मोरङ\ राज्यले बर्सेनी विदेशबाट औषधि खरिदमा खरवौँ बजेट खर्च गर्छ तर करोडौँ  लगानीमा देशमै निर्माण भएर पनि संचालन हुन नसकी बन्द भएका औषधि कारखाना वा उद्योगहरुलाई संरक्षण र पुनः संचालन गर्नेतर्फ राज्यको ध्यान जान सकेको छैन ।

यस्तै चपेटामा मोरङको सुन्दरहरैंचामा रहेको एउटा औषधि कारखाना पनि परिरहेको छ ।  सुन्दरहरैंचा नगरपालिका वार्ड –११ कर्जुनामा २० वर्ष अघि निर्माण भएको सुवर्ण भर्मासिटिकल औषधि कारखाना आजसम्म पनि संचालन हुन नसक्दा वर्षेनी अरबौं पुंँजी पलाएन भैरहेको छ ।

पाँच विगाहा क्षेत्रफलमा निर्माण भएको, ३ वटा ब्लकमा फैलिएको यो औषधि कारखानामा अढाई सयजति कोठा रहेका छन । तर संरक्षण तथा संवर्धनमा ध्यान नदिँदा ती अहिले संचालन नहुँदै जीर्ण बन्दै गइरहेका छन् ।

सूवर्ण फर्मासिटिकल र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा रहेको कम्पनीमा भारतीय सरकारी औषधि कम्पनी (एनटीसी) को ३४ करोड र सरोकारवाला  (सुवर्ण फर्मासिटिकल र विपि स्वास्थ विज्ञान प्रतिष्ठान) को ११ करोड गरी कुल ४५ करोडको लगानीमा रहेको छ ।  निर्माण कार्य अन्तिम अवस्थामा पुगेपनि  निर्माण जिम्मा पाएको तुण्डी कन्ट्रक्सन कम्पनीलाइ हटाएपछि निर्माण कार्य अपुरो रहेको बताईन्छ ।

तुण्डीले आफ्नो सम्झौता बमोजिमको रकम नपाएपछि अदालतमा मुद्धा हालेको, मुद्धा पनि तुण्डीकै पक्षमा आए पछि कम्पनीले मोटो रकम तिर्नु परेको बताईन्छ ।

२०५५ सालमा शेखर कोईरालाद्वारा सिलान्यास गरी कार्य सम्पन्ताको चरणमा पुगेको यो कारखाना हाल भुतबङ्गालामा परिणत भएको छ । कारखानाको रेखदेखका लागि सुरुमा चारजना सुरक्षा गार्ड राखिए पनि हाल त्यहाँ एकजनाले मात्र हेरचाह गर्दै आएका छन् ।

यति ठूलो क्षेत्रफलमा फैलिएको कारखाना छ, एक्लो मानिसले हेरचाह गर्नु परेको छ । केछ कसो भनेर कसैले सोधखोज नगरेको, बाहिरबाट आउने उत्सृङ्खल व्यक्तिहरुले दुःख दिने गरेको कारखानाको रेखदेखका लागि बसेका स्थानीय कृष्णप्रसाद नेउपाने बताउंँछन् ।

आफ्नै गाउँमा यति ठूलो कारखाना बनेपछि स्थानीयमा पनि ठूलो उत्साह पलाएको थियो । काराखाना संचालन भएपछि व्यपार व्यवसाय राम्रो हुने देखेर कारखानाकै आडमा जमिन लिएका सुन्दरहरैचा १२ का उद्धव सापकोटा अहिले दुखी छन् । स्थानीय सरकारले यो कारखाना संचालनमा तागेता गर्नुपर्ने उनी बताउंँछन् ।

आफू तीस वर्षदेखि यो क्षेत्रमा बसोवास गर्दै आएको बताउने सुन्दरहरैंचा –११ का गणेशप्रसाद दाहाल गाउँमै उद्योग संचालन भएमा त्यसको फाईदा स्थानीयले लिने हुनाले यो कारखाना चाँडै संचालनमा आईदिए हुन्थ्यो भन्ने ठान्दछन् ।

स्थानीयले यसको संचालनमा राज्यले ध्यान दिनुपर्ने बताईरहँदा यता प्रदेश सांसद राजकुमार ओझा भने यसको संचालनमा आफू लागिरहेको बताउँछन् । यसभन्दा अघिका भिसिलाई बोलाएर कारखाना संचालनमा लाग्न निर्देशन दिईसकिएको उनी बताउंँछन् ।

करोडौं लगानी भएको यस्तो महत्वपूर्ण उद्योग यति लामो समयदेखि संचालन हुन नसक्नु लाजमर्दाे विषय भएको स्थानीय बासिन्दा बताउँछन् ।