अंग्रेज सेनालाई परास्त गरेको ठाउँ सिन्धुलीगढीको चित्र कथा पुस्तक प्रकाशन

  • १७ आश्विन २०७७, शनिबार

समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढी गढीमा तत्कालीन अंग्रेजी सेनालाई परास्त गरेको दिन (असोज १५ ) को अबसरमा सिन्धुलीगढी चित्र कथा पुस्तक प्रकाशन गरेको छ ।                                  उक्त पुस्तकको काठममाडौंमा पर्यटनमन्त्री योगेश भट्टराइ, पूर्वमन्त्री हरिवोल गजुरेल, सांसद गणेश पहाडी, इतिहासकार प्राध्यापक दीनेशराज पन्त र समृद्ध सिन्धुली अभियानका संयोजक लीलानाथ घिमिरेले संयुक्त रुपमा गर्नु भयो । त्यस्तै सिन्धुलीमा एकै समय आयोजना गरिएको कार्यक्रममा कमलामाई नगरप्रमुख खड्गबहादुर खत्रीले उक्त पुस्तक बिमोचन गर्नु भयो ।
सिन्धुलीगढी भारतमा शासन गरिरहेको तत्कालीन अंग्रेज सेनालाई काठमाडौंतर्फ आउँदै गर्दा गोर्खाली फौजले पराजित गरेर लखेटेको ऐतिहासिक स्थल हो । पृथ्वीनारायण शाहको नेपाल एकिकरण अभियानलाई रोक्न आएका अंग्रेजी फौजलाई विक्रम संवत् १८२४ मा वीर गोर्खालीले सिन्धुलीगढीमा घरेलु हतियारको भरमा लडेर परास्त गरेका थिए । संसारमा आफ्नो साम्राज्य खडा गर्न अगाडि बढेको बेलायती साम्राज्यलाई परास्त गरेको सम्झनामा हरेक बर्ष असोज १५ गते विजयोत्सव मनाइन्छ । सिन्धुलीगढी किल्ला विक्रम संवत्को १४ औं सताब्दीमा स्थापना भएको इतिहासकारहरुको भनाइ छ ।
पुस्तक विमोचन गर्दै मन्त्री भट्टराईले सिन्धुलीगढीमा बीर गोर्खालीले अंग्रेजी सेनालाई परास्त गरेर नेपालीको स्वतन्त्रता जोगाउन भूमिका निर्बाह गरेकाले त्यस स्थलको विकास गर्न सरकारले काम गर्ने बताउनु भयो । उहाँले तराइबाट नजिक रहेका सिन्धुलीगढी, सिन्धुलीकै फिक्कल जस्ता स्थानलाई गर्मी छल्न जान हिल स्टेशनका रुपमा विकास गर्ने तयारी गरेको बताउनु भयो । उहाँले यस्तो अंग्रेजसँग युद्ध भएको सिन्धुलीगढीलाई अहिलेको समयमा नेपाल बेलायत मैत्री स्थलका विकास गर्न सकिने पनि बताउनु भयो । उहाँले सिन्धुलीहुँदै निर्माण भएको तीन वटा राष्ट्रिय राजमार्गका कारण पनि सिन्धुलीको पर्यटन सम्भावना ज्यादा रहेको बताउनुभयो ।
पूर्वमन्त्री हरिबोल गजुरेलले सिन्धुलीगढीको ऐतिहासिक दरबार पुननिर्माण गर्न सरकारले पहल गर्नु पर्ने बताउनु भयो । उहाँले सिन्धुलीगढी दरबार पुनर्निर्माण र गढीको संरक्षण कार्यलाई तीब्रतर गतिमा अगाडि बढाउन मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा इतिहासकार प्रा. दिनेशराज पन्तले सिन्धुलीगढीले नोपलको एकिकरणमा समेत भूमिका निर्वाह गरेको बताउँदै उक्त स्थलमा जथाभावी संरचना निर्माण गरेर इतिहास मेटाउनु नहुने बताउनु भयो ।
समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले सिन्धुलीगढीमा तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको दिनको सम्झनामा काठमाडौंदेखि सिन्धुलीगढीहुँदै जनकपुरसम्म हरेक बर्ष गर्दै आएको राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा यस बर्ष कोभिड १९ का कारण गर्न नसकिएको बताउँदै आगामी बर्षदेखि निरंतरता दिने जानकारी दिनु भयो ।                           अभियानले सन् २०१६ मा सुरु गरेको साइकल यात्रा ४ बर्षसम्म निरंतर सफलतापूर्वक सम्पन्न भएको थियो । साइकल यात्रामाफर्त ऐतिहासिक सिन्धुलीगढीको प्रबर्धन गर्न अभियानले ब्यसाययिक यात्रा गराउन थालेको हो ।
कार्यक्रममा अभियानकर्मी डण्ड गुरुङ, कमर्ययोगी बद्री विक्रमथापा स्मृति सेवा गुठीका कोषाध्यक्ष किरण थापाले सिन्धुलीगढीको ऐतिहासिक महत्व र चित्रकथाका विषयमा चर्चा गर्नुभएको थियो ।
त्यस अवसरमा मन्त्री भट्टराईलाई समृद्ध सिन्धुली अभियानका तर्फबाट अध्यक्ष लीलानाथ घिमिरेले अंग्रेज र गोरखालीबीच युद्ध भएको पौवागढीको चित्रकला उपहार प्रदान गर्नु भएको थियो । उक्त चित्रकला कलाकार सुरेम देशारले तयार पार्नुभएको हो । त्यसै अबसरमा बद्री बिक्रम सेवा गुढीले प्रकाशन गरेका पुस्तकहरु गुढीका कोषाध्यक्ष किरण थापाले मन्त्री भट्टराईलाई प्रदान गर्नु भएको थियो ।
यस्तै सिन्धुलीमाढीमा भएको कार्यक्रममा कमलामाई नगरप्रमुख खड्ग खत्रीले चित्रकथा प्रकाशन गरेर समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीलाई चिनाउन राम्रो भूमिका निर्वाह गरेको बताउनु भयो । उहाँले सिन्धुलीगढीको संरक्षण र विकासमा कमलामाई नगरपालिका सक्रिय भएर लागिरहेको बताउनु भयो ।