बिपन्न छ जना बिरामीको निःशुल्क मुटुको भल्ब फेरिदियो नोबेल अस्पतालले

  • २६ पुष २०७७, आईतवार

नोबेल शिक्षण अस्पतालमा ६ जना बिरामीलाई निःशुल्क मुटुको भल्ब लगाइएको छ ।                            मोरङ, सुनसरी, झापा र उदयपुरका न्यून आर्थिक अवस्थाका दुई पुरुष र चार महिलालाई निःशुल्क मुटुको भल्ब लगाइएको हो ।

पहिलो चरणमा झापाको बुद्धशान्तिका उत्तम प्रकाश भट्टराई, सुनसरीको इनरुवाका रामकुमार भुजेल, मोरङको बुद्धनगरका मदनकुमारी राजवंशी, सुन्दरहरैंचाका विशाखा दास, बुढिगंगाका मिना ठाकुर र उदयपुरको गाइघाटका विमला खत्री कटुवालको मुटुको भल्ब फेरिएको हो । प्रतिव्यक्ति करिब ७२ हजार मूल्य पर्ने मुटुको भल्ब उनीहरुलाई निःशुल्क लगाइएको अस्पतालले जनाएको छ ।                             नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माको पहलमा सिन्धु सर्जिकल कन्सन प्रा.लि. का सञ्चालक यज्ञ भण्डारीले ७ लाख २० हजार मूल्य बराबरको १० वटा भल्व निःशुल्क उपलब्ध गराएका थिए । भण्डारीमार्फत प्राप्त भएको भल्ब न्यून आर्थिक अवस्थाका ६ जनालाई निःशुल्क लगाइएको नोबेल अस्पतालका निर्देशक एवं मुटु विभाग प्रमुख डा. राजेश नेपालले जानकारी दिए । उनका अनुसार गरिब बिपन्न परिवारका थप चार जना विरामीलाई पनि निःशुल्क भल्ब लगाइनेछ ।                                   भल्व निःशुल्क प्रदान गर्ने सिन्धु सर्जिकल कन्सन प्रा.लि.का सञ्चालक भण्डारीले गरिब बिपन्न विरामीको उपचारमा साथ दिने उद्धेश्यले सहयोग गरेको प्रतिक्रिया दिएका छन् ।