जताततै नि:शुल्क स्वास्थ्य शिविर गर्दै केएमसी, तीन हजार बढीको उपचार

  • २८ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं मेडिकल कलेजले काठमाडौंको शंखरपुर, मनोहरा र काभ्रेको पनौतिमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट तीन हजार  भन्दा बढी बिरामी लाभान्वित भएका छन् ।

पिपुल केयर हस्पिटलसँग सहकार्य गरी शंखरपुर–६ सांखुमा गरेको निःशुल्क स्वास्थ्य शिविरमा १ हजार ५ सय ६४ जनाले उपचार सेवा लिएको काठमाडौं मेडिकल कलेजका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा ३९६ जनाको भिडियो एक्सरे, ३८४ जनाको ल्याव टेष्ट र २५३ जनाको ईसीजी गरिएको छ । त्यस्तै ४८ जनाको दाँत खोलिएको आयोजकले जनाएको छ ।
मनोहरामा पनि शिविर
काठमाडौं मेडिकल कलेजले यस अघि  काठमाडौंस्थित मनोहरा नगरपालिकामा र काभ्रेको पनौतिमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो  ।

शिविरमा ९ सय ६३ जना विरामीको निःशुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर दाहालले जानकारी दिए । उनका अनुसार २१३ जनाको ल्याव टेष्ट, १९८ जनाको भिडियो एक्सरे र १५३ जनाको इसीजी गरिएको छ । त्यस्तै दाँतमा समस्या भएका ४२ जनाको दाँत निकालिएको छ ।

शिविरमा बिशेषज्ञ डाक्टरसहितको टोलीले मेडिसिन, स्त्रीरोग, बालरोग, नाक कान घाँटी, आँखा रोग, दन्त रोग, हाडजोर्नी तथा नसा रोग, छाला रोग, मानसिक रोग लगायतको उपचार गरेको थियो ।
पनौतीमा पनि निःशुल्क स्वास्थ्य शिविर

काभ्रेको पनौतीमा बुधबार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ८ सय भन्दा बढी बिरामी लाभान्वित भएका छन् । पनौती–६ स्थित ज्योती मिर्मिरे सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको आठौं एकीकरण दिवसको अवसरमा काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी शिविर आयोजना गरिएको हो ।

शिविरमा ८५३ जना बिरामीको निःशुल्क उपचार गरिएको काठमाडौं मेडिकल कलेजका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा २६३ जनाको भिडियो एक्सरे, १०९ जनाको ल्याब टेस्ट र १०५ जनाको इसीजी गरिएको छ ।

काठमाडौं मेडिकल कलेजले यसअघि मंगलबार काठमाडौंको मनोहरामा पनि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो ।

केएमसीले पछिल्लो समय निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएको छ । गरिव तथा विपन्न बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइएको केएमसीका अध्यक्ष डा. सुनिल शर्माले जानकारी दिए ।