सलकपुरमा नोबेलको र गोदावारीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

  • १ चैत्र २०७७, आईतवार

नोबेल शिक्षण अस्पतालले मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

स्थानीय ब्राइट फ्यूचर स्कूलमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ७४८ जनाको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ ।

       शिविरमा ३२० जनाको ल्याव टेष्ट, २१३ जनाको भिडियो एक्सरे र ४७ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका सिनियर मार्केटिङ म्यानेजर भगत शाहले जानकारी दिए । उनका अनुसार शिविरमा पाठेघरको समस्या, सुगर, प्रेसर र दाँतको समस्या भएका बिरामी बढी आएका थिए ।

       ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई निःशुल्क उपचार गर्ने उद्धेश्यले नोबेल अस्पतालले बर्षै अघिदेखि पूर्वी नेपालका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । आगामी मंगलबार पनि सुनसरीको झुम्कामा शिविर सञ्चालन गरिने नोबेल अस्पतालले जनाएको छ ।

गोदावारीमा केएमसीको शिविर,  ७ सय बिरामीको निःशुल्क उपचार

काठमाडौं मेडिकल कलेजले आइतवार ललितपुरको गोदावारी नगरपालिकामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ७५३ बिरामीले निःशुल्क उपचार पाएका छन् ।

       बिपन्न बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिएको केएमसीले गोदावारी–९ स्थित गणेश आधारभूत विद्यालयमा एक दिने शिविर सञ्चालन गरेको हो । शिविरमा १९८ जनाको ल्याव टेष्ट, १४३ जनाको भिडियो एक्सरे र ८७ जनाको इसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा ४१ जनाको दाँत खोलिएको छ ।

शिविरमा विशेषज्ञ डाक्टरहरु सहितको टोलीले मेडिसिन, स्त्रीरोग, बालरोग, नाक, कान घाँटी, आँखा, दन्त, हाडजोर्नी तथा नसा, छाला, मानसिक रोग लगायतको उपचार गरेको थियो । समाजसेवी डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि पछिल्लो समय केएमसीले बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइरहेको छ ।