पाँच जिल्लाका ठाउँ ठाउँमा निःशुल्क स्वास्थ्य शिविर गर्दै केएमसी 

  • ३ चैत्र २०७७, मंगलवार

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले चैत महिनामा उपत्यकाका तीनसहित आसपास क्षेत्रका पाँच जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

काठमाडौं, ललितपुर भक्तपुर, नुवाकोट र काभ्रेपलान्चोक जिल्लाका बिभिन्न स्थानमा फरक–फरक मितिमा शिविर गर्न लागिएको केएमसीले जनाएको छ ।

स्थानीय संघ सस्थाहरुसँग सहकार्य गरेर चैत ३ देखि ३० गतेसम्मको अवधिमा पाँच जिल्लामा ११ दिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार चैत ३ गते भक्तपुरको झौखेल, ५ गतेदेखि १० गतेसम्म नुवाकोट, १२ गते ललितपुरको बुङमती, २० गते काभ्रेको जिरोकिलोमिटर र २३ गते काठमाडौंको मुलपानी र ३० गते काभ्रेपलान्चोकको कुशादेवीमा शिविर सञ्चालन गर्न लागिएको हो ।

यसअघि पनि केएमसीले बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नोबेल हस्पिटलका संचालक तथा कांग्रेस नेता समेत रहेका  डा. सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि पछिल्लो समय केएमसीले बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइरहेको छ ।