चार जिल्लामा केएमसीको स्वास्थ्य शिविर, दश हजारभन्दा बढी लाभान्वित

  • १८ चैत्र २०७७, बुधबार

‍‍काठमाडौं मेडिकल कलेजले काठमाडौं, ललितपुर, नुवाकोट र धादिङमा  सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट झण्डै १० हजार भन्दा बढी  लाभान्वित भएका छन्  ।

काठमाडौं र ललितपुरमा भएका  शिविरमा गरी १ हजार ८ सय ८१ जना,  नुवाकोटमा ८ हजार जना र धादिङमा ७ सय ८३ जनाको निःशुल्क स्वास्थ्य परिक्षण तथा उपचार गरिएको हो ।

काठमाडौंको बानेश्वरमा सञ्चालित शिविरमा ९ सय ७४ जना र ललितपुरको वुङ्गमती स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा ८ सय ७७ जनाले निःशुल्क उपचार सेवा पाएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

वुङ्गमतीको शिविरमा २०१ जनाको ल्याब टेष्ट, १६३ जनाको इसीजी र १२२ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै, बानेश्वरको शिविरमा १९८ जनाको ल्याब टेष्ट, १५५ जनाको भिडियो एक्सरे र १३० जनाको इसीजी गरिएको छ ।

त्यस्तै नुवाकोटका तीन स्थानमा भएको केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट आठ हजार बिरामी लाभान्वित भएका छन् ।

नुवाकोटको सूर्यगढी गाउँपालिकामा तीन दिन, तादी गाउँपालिकामा दुई दिन र दुप्चेश्वर गाउँपालिकामा तीन दिन शिविर सञ्चालन गरिएको केएमसीले जनाएको छ ।

तीन पालिकामा सञ्चालित शिविरमा ७ हजार ९ सय ६६ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

दाहालका अनुसार सूर्यगढीमा ३ हजार ४ सय २, तादी गाउँपालिकामा २ हजार ९ सय ४७ र दुप्चेश्वर गाउँपालिकामा १ हजार ६ सय १७ जना बिरामीले शिविरबाट स्वास्थ्य सेवा लिएका छन् ।

तीन वटै शिविरमा गरी १ हजार ५३ जनाको इसीजी, १ हजार ३ सय ५६ जनाको भिडियो एक्सरे र १ हजार ६ सय ४ जनाको ल्याब टेष्ट गरिएको छ । त्यस्तै, शिविरमै ६९ जनाको सामान्य शल्यक्रिया गरिएको र एक जना हाइड्रोसिलका विरामीको जटिल शल्यक्रिया  गरिएको छ । १ सय ६४ जनाको दाँत फुकालिएको छ ।

शिविरमा अप्रेशन सम्भव नभएका २ सय ५७ जना बिरामीलाई अस्पतालमा बोलाइएको र उनीहरुलाई विशेष छुटमा अप्रेशन गरिने केएमसीले बताएको छ ।

धादिङमा पनि निःशुल्क स्वास्थ्य शिविर

केएमसीले धादिङको मलेखुमा वुधवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय राजमार्ग सामुदायिक आँखा अस्पतालसँग सहकार्य गरेर एक दिने शिविर सञ्चालन गरिएको हो ।

शिविरमा ७ सय ८३ विरामीको निःशुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार उपचारका क्रममा १ सय ९५ जनाको ल्याब टेष्ट, १ सय ८५ जनाको भिडियो एक्सरे र १३५ जनाको इसीजी गरिएको छ ।

त्यसो त चैत २० गते काभ्रेको जिरोकिलोमिटर, २३ गते काठमाडौंको मुलपानी र ३० गते काभ्रेपलान्चोकको कुशादेवीमा शिविर सञ्चालन हुने केएमसीले जनाएको छ ।

यसअघि पनि केएमसीले बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि पछिल्लो समय केएमसीले बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइरहेको छ ।