सर्जरीमा फड्को मार्दै केएमसी, रोवट मेसिनबाट ‘रोवटिक सर्जरी’ थाल्ने तयारी

  • २१ चैत्र २०७७, शनिबार

‍सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलोपटक ‘रोवटिक सर्जरी’ थाल्ने भएको छ ।

अत्याधुनिक रोवट मेसिन ल्याएर ‘रोवटिक सर्जरी’ थाल्ने तयारी अन्तिम चरणमा पुगेको केएमसीले जनाएको छ । अत्याधुनिक ‘रोवटिक सर्जरी’ का लागि केएमसीले करिब १० करोडको लागतमा मेसिन खरिद गरेको छ ।

अब, डेढ महिनाभित्र ‘रोवटिक सर्जरी’ थालिने केएमसीका अध्यक्ष डा. सुनिल शर्माले जानकारी दिए । ‘नेपालमै पहिलो पटक हामीले रोवटिक सर्जरी थाल्दैछौं,’ डा.शर्माले भने ‘यूएसबाट मेसिन खरिद भइसकेको छ । अब प्राविधिक पक्ष मिलाईसकेपछि डेढ महिनाभित्र नेपालमै पहिलो पटक सर्जरीमा रोवट प्रयोगमा ल्याउँदैछौ ।’

अत्याधुनिक र भरपर्दो उपचारका लागि न्यूरो सम्बन्धित शल्यक्रियामा रोवट प्रयोग गर्ने तयारी गरिएको केएमसीले जनाएको छ । त्यसपछि अन्य शल्यक्रियामा पनि रोवटको प्रयोग गर्ने केएमसीको योजना छ ।

‘रोवटिक सर्जरी’ मा चिकित्सकले बनाएको अप्रेशन योजनामा रोवटको सहायता लिएर अप्रेशन गरिन्छ । सुक्ष्म एवं जटिल शल्यक्रियामा रोवटको सहायता लिदा शल्यक्रिया गर्न धेरै सहज हुँने केएमसीका बरिष्ठ न्यूरो सर्जन प्रा.डा.अमित थापाले बताए ।

‘रोवटले नै सबै अप्रेशन गर्ने चै हैन, सर्जनले प्लान गरेर रोवटको सहायता लिएर अप्रेशन गर्ने हो । सानो–सानो अगंमा पुगेर गरिने सुक्ष्म अप्रेशनमा सर्जनको हात काम्न सक्छ, त्यस्तो अवस्थामा रोवटको सहायता लिदा रिक्स काम हुने हुनाले सर्जनलाई सजिलो हुन्छ,’ डा.थापाले भने,‘सानो प्वाल बनाएर गर्नुपर्ने अप्रेशन, शरिरको संवेदनशिल अंगमा पुगेर गरिने जटिल अप्रेशनहरुमा रोवटको निकै ठूलो भूमिका हुन्छ । जसका कारण अप्रेशनको बेष्ट रिजल्ट प्राप्त हुन्छ ।’

चिकित्सकहरुका अनुसार नेपालका कुनैपनि अस्पतालमा हालसम्म ‘रोवटिक सर्जरी’ सुरु भएको छैन । अत्याधुनिक र भरपर्दो मानिने यो सर्जरी नेपालमै पहिलो पटक सुरु गर्न लागिएको केएमसीको दावी छ ।

पूर्वमा प्रतिष्ठित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले गत भदौं महिनाबाट केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । डा.शर्माको प्रवेशसँगै केएमसीले उपचारमा स्तरीयता बढाउदै लगेको बताइएको छ ।

समाजसेवाका क्षेत्रमा बेग्लै पहिचान बनाएका डा.शर्माले अहिले बिभिन्न जिल्लामा केएमसीका चिकित्सकको टोली पठाएर निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएका छन् । केएमसी प्रवेशसँगै उनले ओपीडी पनि निःशुल्क गराएका छन् ।

कोरोना महामारीमा सरकारले पीसीआर परीक्षण शुल्क ४४ सय तोकेका बेला डा.शर्माले केएमसीमा २५ सय मै पीसीआर परीक्षण गराएका थिए ।  बढी शुल्क तोकेको भन्दै आलोचना भएपछि पीसीआर परीक्षण शुल्क घटाउन सरकार बाध्य भएको थियो ।