१५ सय रुपैयाँमै पीसीआर परीक्षण गर्दै नोबेल हस्पिटल

  • १६ बैशाख २०७८, बिहीबार

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले १ हजार ५ सय रुपैयाँमै पीसीआर परीक्षण गर्न थालेको छ । कोरोना संक्रमण पुनः बढ्न थालेका बेला नोबेलले पीसीआर परीक्षण शुल्क घटाएको हो ।

सरकारले अहिले पीसीआर परीक्षणको अधिकतम शुल्क दुई हजार तोकेको छ । सरकारले तोकेको भन्दा पाँच सय रुपैयाँ कम शुल्कमै नोबेलले पीसीआर परीक्षण गर्न थालेको हो । यसअघि नोबेलले २ हजार रुपैयाँमा पीसीआर परीक्षण गर्दै आएको थियो । कोरोना संक्रमण पुनः बढ्न थालेकाले कोरोना नियन्त्रणमा सहयोग पुर्याउँन पीसीआर परीक्षण शुल्क घटाइएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले बताए । ‘अहिले फेरी कोरोना संक्रमण बढिरहेको छ । यस्तो बेला पीसीआर परीक्षण शुल्क महंगो भयो भने कोरोना नियन्त्रणमा समस्या हुँनसक्न भनेर केही सहज बनाउँन शुल्क घटाएका हौं,’ डा.शर्माले भने ।

डा.शर्माले मोरङको क्षेत्र नं.३ र क्षेत्र नं.६ अन्तर्गत पर्ने ६ वटा पालिकाका ४५ वटा वडाबासीलाई बैशाख महिनाभर नोबेलमा ७५० रुपैयाँमै पीसीआर परीक्षण गर्ने घोषणा गरी सोही अनुसार परीक्षणको व्यवस्था मिलाउँदै आएका छन् । आफू अध्यक्ष रहेको काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पनि डा.शर्माले केही दिन अघि पीसीआर परीक्षण शुल्क घटाएर १५ सयमा झारेका छन् ।

कोरोना महामारीमा सरकारले पीसीआर परीक्षण शुल्क ४ हजार ४ सय तोकेका बेला डा.शर्माले केएमसीमा १ हजार ९ सय कम अर्थात २ हजार ५ सयमै पीसीआर परीक्षण गराएका थिए । सरकारले तोकेको भन्दा झण्डै आधा शुल्कमा पीसीआर परीक्षण गराएपछि डा.शर्माले प्रशंसा मात्र कमाएनन् बढी शुल्क तोकेको भन्दै आलोचना भएपछि पीसीआर परीक्षण शुल्क घटाउँन सरकार बाध्य पनि भएको थियो ।