कोरोना प्रभावित उद्यमीहरूको लागि कुनै कार्यक्रम नल्याएकोमा विवेकशील साझाको आपत्ति

  • ५ असार २०७८, शनिबार

विवेकशील साझा पार्टीले सङ्घीय सरकार तथा प्रदेश सरकारहरूले बजेटमा कोरोना महामारीबाट प्रभावित उद्यमीहरूको उत्थान र उद्धारका लागि कुनै कार्यक्रम नल्याएकोमा आपत्ति जनाएको छ ।

बन्दाबन्दीको समयमा सम्पूर्ण साना-मझौला उद्योग तथा उद्यमीहरूका लागि समेत विशेष परियोजना र राहत प्याकेज ल्याउन सो पार्टीले माग गरेको छ ।  व्यवसाय नवीकरणमा छुट, बैङ्क ऋण तिर्ने समय थप तथा ऋण मोचन, नव उद्यमीहरूलाई न्यून ब्याजदरमा ऋण प्रदान लगायतका विषय समेट्नुपर्ने विवेकशील साझा पार्टीले माग गरेको छ ।

विवेकशील साझा पार्टीका केन्द्रीय उद्यमशील विभाग प्रमुख आशुतोष प्रधानले जारी गरेको बिज्ञप्तिमा सङ्घीय सरकारको बजेटमा परेका उद्यमी केन्द्रित कार्यक्रमको कार्यान्वयन गर्न र कोरोना तथा लकडाउनबाट पीडित उद्यमीहरूको स्थिति अध्ययन गर्न र तदनुरूपका कार्यक्रम ल्याउन प्रदेश सरकार र स्थानीय सरकारहरूलाई अनुरोध गरिएको छ ।

बिज्ञप्तिमा भनिएको छ ” पूर्ण क्षति व्यहोरेका कतिपय नव-उद्यमीहरूलाई तिनै तहका सरकारको समन्वयमा संरक्षणको नीति र कार्यक्रम लिएर आउन हामी विनम्र अनुरोध गर्दछौँ।”