राज्यले पीडककै पक्षपोषण गरेको भन्दै विवेकशील साझा युवा सङ्गठनको बिरोध

  • ११ असार २०७८, शुक्रबार

   जातीय बिभेदका घटनामा राज्यले लज्जास्पद ढंगले पीडककै पक्षपोषण गरेको भन्दै विवेकशील साझा युवा सङ्गठनले आपत्ति प्रकट गरेको छ ।

एक बिज्ञप्ति  निकाल्दै संगठनले प्रहरीले जातीय विभेदका उजुरी नलिने, पीडकलाई नै तथाकथित राजनीतिक दलका अगुवाहरूले मिलापत्र गर्न दबाब दिने र न्यायालय पुगेका मुद्दाहरूलाई समेत ठुलाठालुहरूले प्रभावमा पार्ने घटनालाई मात दिँदै संघीय सरकारको मन्त्रीले न्यायिक निरूपणमा परेका पीडित पक्षलाई आहत हुने गरी गरेका गतिविधि प्रति घोर निन्दा गरेको छ ।

बिज्ञप्तिमा सामाजिक न्याय र समानुपातिक समावेशिताको जगमा मात्रै समतामूलक संवृद्धि हासिल हुने र राज्यले हरेक नागरिकलाई सहानुभूति दिलाउन सक्छ भन्ने विश्वास राख्ने विवेकशील साझा युवा संगठन सरकारलाई यथाशीघ्र जातीय छुवाछुतका मुद्दा दर्ता प्रक्रिया छरितो र सहज बनाउन, सहरी क्षेत्रमै हुने छुवाछुत जन्य व्यवहारहरूलाई कानुनको दायरामा ल्याउन र मुलुकको संविधानले सुनिश्चित गरेका समानता, छुवाछुत विरुद्धको हक लगायतका मौलिक हकहरूको पूर्ण कार्यान्वयन गर्न अग्रसरता लिन सरकारसँग माग गरिएको छ  ।

विवेकशील साझा युवा सङ्गठनका महासचिव सरोज गौतमद्वारा हस्ताक्षरित बिज्ञप्तिमा जातीय छुवाछुतको मानसिकता र व्यवस्थाकै समूल अन्त्यका लागि घर र समाजबाट नै हटाउनका लागि नागरिक पहलको नेतृत्व लिन आम नेपाली युवा पंक्ति, नागरिक समाज तथा युवा सङ्घसंगठनसँग अपिल गरिएको छ ।

रूपा सुनारलाई काठमाडौकी सरस्वती प्रधानले डेरा नदिएको घटनामा ५८ वर्षीया सरस्वती  तीन दिन थुनामा बसेकी थिइन् । प्रधानलाई  शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले रिहा गराइ सरकारी गाडीमा घर पुर्याइदिएका थिए । त्यसपछि मन्त्री श्रेष्ठको सर्वत्र आलोचना भएको छ ।