केएमसीले सञ्चालन गर्‍यो नेपालकै ठूलो नवजात शिशु तथा वाल रोग सघन उपचार कक्ष

  • ३० भाद्र २०७८, बुधबार

 

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालकै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधा सहितको नवजात शिशु सघन उपचार कक्ष र वाल रोग सघन उपचार कक्ष सञ्चालनमा ल्याएको छ ।

नेपालमै हालसम्म प्रयोगमा नरहेका उपकरणहरु प्रयोगमा ल्याएर केएमसीले नवजात शिशु र बाल रोगको अत्याधुनिक सघन उपचार कक्ष सञ्चालन गरेको हो ।

४० शैयाको नवजात शिशु सघन उपचार कक्ष र १० शैयाको बालरोग सघन उपचार कक्ष गरी बालबालिकाहरुको उपचारका लागि ५० शैयाको अत्याधुनिक उपचार कक्ष सञ्चालनमा ल्याइएको केएमसीका अध्यक्ष डा. सुनिल शर्माले जानकारी दिए ।

केएमसीले उमेर नपुग्दै जन्मिएको शिशुलाई आमाको गर्भ जस्तै अवस्थामा राख्ने जिराफ ओम्निबेड इन्क्यूव्याटर मेसिन र १ किलो भन्दा कम तौल भएका नवजात शिशुलाई फोक्सोको उपचारमा प्रयोग गरिने हाइ फृक्यान्सी ओस्सिल्याटोरी भेन्टिलेटरसहितका उपकरण प्रयोगमा ल्याएको छ ।

यी दुबै मेसिन नेपालमै पहिलो पटक केएमसीले प्रयोगमा ल्याएको अस्पतालका वालरोग बिभाग प्रमुख प्रा.डा. सुनिल राजा मानन्धरको दावी छ । उनका अनुसार उमेर नपुग्दै जन्मिएका २६ हप्तादेखि २८ हप्तासम्मको नवजात शिशुलाई यो उपकरणको प्रयोग गरेर बचाउन सकिन्छ ।

केएमसीले प्रयोगमा ल्याएका अत्याधुनिक उपकरणले नवजात शिशु र वाल मृत्युदर कम गर्न सघाउ पुग्ने केएमसीका जेनेरल मेनेजर नारायण दाहाल बताउँछन् । उनी भन्छन्, ‘अत्याधुनिक उपकरणसहित नेपालकै सबैभन्दा ठूलो ४० बेडको एनआइसीयू केएमसीले सञ्चालनमा ल्याएको छ, यत्ती ठूलो एनआइसीयू नेपालमा अन्त छैन । यसले नवजात शिशु तथा वाल मृत्यदर घटाउँन सघाउ पुर्याउँछ ।’

केएमसीले यसअघि २५ शैयाको नवजात शिशु सघन उपचार कक्ष र ५ शैयाको बालरोग सघन उपचार कक्ष सञ्चालन गर्दै आएको थियो ।