बिरामीलाइ बन्धक बनाएको भन्ने झुठो प्रचार गरी भ्रम फैलाइएकोमा नोबेलको आपत्ति

  • १५ आश्विन २०७८, शुक्रबार

नोबेल शिक्षण अस्पतालले बिरामी बन्धक बनाएको भनेर गलत प्रचार गरी भ्रम फैलाइएको भन्दै आपत्ति जनाएको छ ।

अस्पताल भन्दा बाहिरको फार्मेसीको बिषयलाई जोडेर बिनाकारण अस्पतालको बदनाम गरिएको भन्दै नोबेलले आपत्ती जनाएको हो ।

नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालले प्रेस विज्ञप्ति जारी गर्दै गलत प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गरेका छन् । नोबेल अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा बिरामी बिनोद रिसिदेवको मृत्यु भएको थियो । उपचारका क्रममा बिरामीका आफन्तले अस्पताल हाताभन्दा बाहिरको फार्मेसीबाट औषधि लिएका थिए । रिसिदेवको परिवारले फार्मेसीमा औषधिको बाँकी बक्यौता तिर्न नसक्दा समस्या सृजना भएको थियो ।

यता, बिरामीका परिवारले उपचार बापत लागेको पैसा तिर्न नसकिएको गुनासो गरेपछि अस्पतालले उपचार बापत तिर्नुपर्ने ९२ हजार रकम छुट गरेको थियो । तर, अस्पताल भन्दा बाहिर रहेको फार्मेसीको बक्यौताको बिषयमा अस्पतालको नाम जोडर केही सञ्चारमाध्यमले बदनाम गर्न खोजेको भन्दै अस्पतालले आपत्ती जनाएको हो ।

‘अस्पताल भन्दा बाहिरको औषधालयबाट लिइएको औषधिको बाँकी बक्यौताको सम्बन्धमा अस्पतालको नाम जोडिएर समाचार आउँदा समाचारको शीर्षक र फोटोले अस्पतालप्रति नकारात्मक प्रभाव परेको हुँदा यसै विज्ञप्ति मार्फत मृतकको शव अस्पतालले बन्धक नबनाएको सबैमा जानकारी गराइन्छ,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘बिनोद रिसिदेवको उपचारका क्रममा बाँकी बक्यौता निजको आर्थिक अवस्थाका कारणले अस्पतालले छुट गरेर पठाएको भएतापनि जिम्मेवार सञ्चारमाध्यमले वस्तुस्थिती नबुझी अतिरञ्जित ढुंगले पाठकमा भ्रम हुँने गरी समाचार सम्प्रेषण गरेकोमा अस्पतालको आपत्ती रहेको छ र त्यसलाई तत्काल सुधार गर्न अनुरोध गर्दछौं ।’