राईको मृत्यु रहस्यमय र शंकास्पद छ भन्दै धनकुटा कांग्रेसद्वारा छानविनको माग

  • ६ कार्तिक २०७८, शनिबार

धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. १० का पार्टी सभापती झगेन्द्र राईको मृत्यु रहस्यमय र शंकास्पद भएको भन्दै नेपाली कांग्रेस धनकुटाले निष्पक्ष छानविनको माग गरेको छ ।

कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले जारी गरेको शोक विज्ञप्तीमा राई गत कार्तिक ३ गते खोलामा मृत अवस्थामा फेला परेको भएपनि उनको मृत्यु शंकास्पद भएको उल्लेख गरिएको छ । कांग्रेसका वडा सभापती राईको मृत्यु शंकास्पद र रहस्यमय देखिएकोले पोष्टमार्टम रिपोर्टका आधारमा घट्नाको निष्पक्ष छानविन गर्न समेत धनकुटा कांग्रेसद्धारा जारी बिज्ञप्तीमा प्रहरीसंग जोडदार माग गरिएको छ । बिज्ञप्तीमा घटनाको प्रकृति, फेला परेको लासको अवस्था र घटनास्थलको वस्तुस्थिति हेर्दा राईको मृत्यु रहस्यमय र शंकास्पत देखिएकोले घट्ना निष्पक्ष र गहिरो अनुसन्धान गर्न प्रहरी र प्रशासनसंग माग गरिएको छ ।
वडा सभापती झगेन्द्र राई र धनकुटा नगरपालिकाको वडा नं.९ टेकुनालाका पूर्व वडा सभापती दिल वहादुर राईको पनि हालसालै निधन भएकोले कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको उल्लेख गर्दै जारी विज्ञप्तीमा उनीहरुको निधनले कांग्रेस धनकुटाले सच्चा इमानदार,साहसिक,उर्जाशिल र कर्तव्य निष्ट नेताहरु गुमाएको जनाइएको छ ।

मृत्यु भएका दुवैजनाप्रति सम्मान सहित हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै नेपाली कांग्रेस धनकुटाले तिन दिनसम्म जिल्ला, प्रदेश सभा निर्वाचन क्षेत्रिय कार्य समिति,पालिका कार्य समिति, वडा कार्य समितिका पार्टी कार्यालहरुमा पार्टीको झण्डा झुकाएर पार्टी कार्यालयहरु बन्द गरी शोक व्यक्त गर्न आग्रह गरेको छ ।