काभ्रेसहित विभिन्न जिल्लामा स्वास्थ्य शिविर संचालन गर्दै केएमसी, हजारौं बिरामी लाभान्वित

  • १३ मंसिर २०७८, सोमबार

काभ्रेको धुलिखेलमा काठमाडौं मेडिकल कलेजले गरेको निःशुल्क स्वास्थ्य शिविरमा १३ सय विरामीले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् ।

धुलिखेल नगरपालिका ८ नं. वडा कार्यालय, सारथी फाउण्डेशन र सारथी बहुउद्देश्यीउ सहकारी संस्थासँग सहकार्य गरेर केएमसीले धुलिखेल–८ बडालगाउँस्थित विनायक वाल निम्न माध्यमिक विद्यालयमा एक दिने शिविर सञ्चालन गरेको हो ।

शिविरमा २ सय १३ जनाको भिडियो एक्सरे, २ सय ९ जनाको ल्याब टेष्ट र १ सय ९१ जनाको इसीजीसहित १ हजार ३ सय ६५ विरामीको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

शिविरमा हाडजोर्नी तथा नसा, दात, आँखा, प्रसुती तथा स्त्री, छाला तथा यौन, बाल, नाक, कान, घाँटी लगायत समस्याका विरामीहरु उपचारका लागि आएका थिए ।

यसअघि केएमसीले काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, काभ्रे लगायत जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ । डा. सुनिल शर्माले अध्यक्षको जिम्मेवारी सम्हालेपछि ग्रामिण क्षेत्रका बिपन्न विरामीलाई लक्षित गरी केएमसीले बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।