कोशीटप्पुमा नोबेल र पनौतिमा केएमसीको स्वास्थ्य शिविर, दुई हजार तीन सय जना लाभान्वित

  • ४ पुष २०७८, आईतवार

सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित कोशीटप्पुमा आइतवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

इटहरी–४ स्थित इन्खा एकीकृत अस्पताल प्रा.लि. र बराहक्षेत्र–९ स्थित कोशिका प्राथमिक विद्यालयसँग सहकार्य गरेर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक दिने शिविर सञ्चालन गरेको हो ।

शिविरमा १ हजार ३ सय २१ विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । उपचारका लागि शिविरमा आएका १८९ जनाको भिडियो एक्सरे, १८२ जनाको रक्त परीक्षण र ६५ जनाको मुटुको जाँच (इसीजी) गरिएको नोबेल शिक्षण अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए ।

यसअघि गत बुधबार नोबेलले इटहरीको तालतलैयामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । ग्रामिण क्षेत्रका विपन्न विरामीलाई लक्षित गरेर नोबेलले पूर्वी नेपालका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

पनौतीमा केएमसीको स्वास्थ्य शिविर, नौं सय विरामीको उपचार
काभ्रेको पनौतीमा शुक्रबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा नौं सय भन्दा बढी विरामीले निःशुल्क उपचार सेवा पाएका छन् । पनौती नगरपालिका–४ स्थित सामुदायिक बोर्डिङ्ग स्कूल र ज्ञान विकास पुस्तकालयसँग सहकार्य गरेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले एक दिने शिविर सञ्चालन गरेको हो ।

सामुदायिक बोर्डिङ्ग स्कूलमा आयोजित शिविरमा ९ सय २१ जना विरामीको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा १८९ जनाको रक्त परीक्षण, १६५ जनाको भिडियो एक्सरे र ९७ जनाको इसीजी गरिएको छ । दाँतमा समस्या भएर शिविरमा आएका २३ जनाको दाँत उखेलिएको छ ।

त्यस्तै, शिविरमा उपचार सम्भव नभएका ४१ जनालाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।