राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’ का रूपमा मनाउन विवेकशील साझाको माग

  • २० पुष २०७८, मंगलवार

विवेकशील साझा पार्टीले नेपाल राज्यका निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा  राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवसका रूपमा मनाउन  माग गरेको छ

संसारका अधिकांश देशहरूमा विशिष्ट महत्त्वको निश्चित दिनमा राष्ट्रिय दिवस मनाइने गरेको भन्दै विवेकशील साझाले सो माग गरेको हो । पार्टी प्रवक्ता शरदराज पाठकले एक बिज्ञप्ति मार्फत नेपालका हकमा कुनै पनि  राष्ट्रिय दिवस नभएकोले  पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नै ‘नेपाल दिवस’ का लागि सबैभन्दा उपयुक्त दिन हुनसक्ने उल्लेख गरिएको छ ।

संसारका कुनै पनि एकीकरणकर्ता विवादरहित नहुने भएपनि त्यस्तो बिवादलाइ लिएर लिएर पृथ्वीनारायण शाहको अवमूल्यन गर्नु उपयुक्त हुँदैन भन्दै बिज्ञप्तिमा भनिएको छ ‘ उनको  दूरदर्शिता र दिव्य उपदेश शान्त, स्वाभिमानपूर्ण, सार्वभौमसत्ता सम्पन्न र संवृद्ध नेपाल निर्माणका लागि आज पनि उत्तिकै सान्दर्भिक छ।’

सो पार्टीले राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिन विगतदेखिको  मागलाई पुनः दोहोर्‍याएको छ । साथै अनावश्यक रूपमा अनेकौँ बिदाहरू दिएर राष्ट्रिय एकता दिवसमा दिइने सार्वजनिक बिदा कटौती गर्नु अत्यन्तै खेदजनक भएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यसैगरी नेपाली रुपैयाँमा पृथ्वीनारायण शाहको तस्बिर अङ्कित गर्न र हरेक सरकारी कार्यालयमा ससम्मान उनको तस्बिर राख्न पनि सरकारसँग माग गरिएको छ ।
पौष २७ गतेदेखि ‘मेचीमहाकाली राष्ट्रिय एकता यात्रा’ हुँदै
विवेकशील साझा पार्टीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसर पारेर  पौष २७ गतेदेखि ‘मेची-महाकाली राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने भएको छ ।
सो दिन शुरु हुने यात्रा माघ १६ गते शहीद दिवसका दिन अन्त्य हुनेछ। उक्त यात्रामा जहाँ, जसरी सम्भव हुन्छ, सहयोग र सहभागिताका लागि सम्पूर्ण नेपालीहरूमा विवेकशील साझा पार्टीले हार्दिक अपिल गरेको छ ।