ताप्लेजुङ्गमा नोबेल र चरिकोटमा केएमसीको स्वास्थ्य शिविर, २ हजार जनाको जाँच तथा उपचार

  • २३ पुष २०७८, शुक्रबार

पुर्वी पहाडी जिल्ला ताप्लेजुङ्गको सिरिजङ्घामा नोबेल हस्पिटलले र काठमाडौं मेडिकल कलेजले दोलखाको चरिकोटमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेका छन् ।

तेल्लोकस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको शिविरमा ९ सय ६५ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । त्यस्तै केएमसीले चरिकोटमा गरेको स्वास्थ्य शिविरमा १ हजारभन्दा बढीले स्वास्थ्य जाँच गराएका छन् ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र सिरिजङ्घा गाउँपालिकाको सहकार्यमा ग्रामिण क्षेत्रका विरामीलाई लक्षित गर्दै ताप्लेजुङमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । बिहिबारदेखि सञ्चालन भएको स्वास्थ्य शिविरमा ९ सय 1३ जनाको स्वास्थ्य जाँच गरिएको छ । शिविरमा १ सय ८९ जनाको भिडियो एक्सरे, १ सय २३ जनाको मुटुको जाँच इसीजी र ४२ जनाको दाँत उखेलिएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

नोबेलले बर्षौ अघिदेखि बिभिन्न जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।
चरिकोटमा केएमसीको स्वास्थ्य शिविर, १ हजारभन्दा बढी बिरामीको उपचार
काठमाडौं मेडिकल कलेजले दोलखाको चरिकोटमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।

भिमेश्वर गाउँपालिका वडा नंम्बर ८ र सत्याग्रह साप्ताहिकसँग सहकार्य गरेर  शिविर संचालन गरेको हो । केएमसीका विशेषज्ञ डाक्टरहरुको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेको छ ।

     बिहिबार एक हजार १३ बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा २ सय २७ जनाको रक्त परीक्षण, २ सय १७ जनाको भिडियो एक्सरे, र १ सय ९२ जनाको मुटुको जाँच (इसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार ७२ जनाको दाँत खोलिएको छ ।
शिविरमा उपचार सम्भव नभएका ६४ जना बिरामीलाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।
केएमसीले काभ्रेको चौकोटमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको थियो । यसअघि पनि बिभिन्न जिल्लामा केएमसीले निःशुल्क शिविर संचालन गर्दै आएको छ ।