पनौती र पशुपतिमा निःशुल्क स्वास्थ्य शिविर, दुई हजार बिरामीको जाँच तथा उपचार

  • १९ फाल्गुन २०७८, बिहीबार

काभ्रेको पनौती नगरपालिका–६ नमोबुद्धरोडमा र पशुपति मन्दिर क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

काठमाडौं मेडिकल कलेज र ज्योती मिर्मिरे सामुदायिक बचत तथा ऋण सहकारी संस्था पनौतीको सहकार्यमा बिहीबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
सहकारीको भवनमा गरिएको शिविरमा १११३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १९७ जनाको रक्त परीक्षण, १२१ जनाको इसीजी र ९३ जनाको भिडियो एक्सरे गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाँतमा समस्या भएर शिविरमा आएका २३ जनाको दाँत उखेलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४२ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ ।
महाशिवरात्रीका दिन पशुपति क्षेत्रमा पनि निःशुल्क स्वास्थ्य शिविर
महाशिवरात्रीको अवसर पारेर काठमाडौं मेडिकल कलेजले पशुपति मन्दिर क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

शिवरात्रीमा मन्दिर आउने भक्तजनहरुलाई लक्षित गर्दै केएमसीले मंगलबार पाशुपत क्षेत्रमै टेन्ट टाँगेर शिविर सञ्चालन गरेको हो ।
पशुपति क्षेत्रमा आएका सयौं भक्तजनले शिविरबाट निःशुल्क स्वास्थ्य उपचार सेवा पाएका छन् । भक्तजनहरु ब्रतका लागि खाली पेट भएकाले उनीहरुमा रिगंटा लाग्ने, टाउको दुख्ने र रक्तचापको समस्या बढी पाइएको चिकित्सकहरुले बताएका छन् ।
दिनभर सञ्चालन भएको शिविरमा ७९३ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।
शिविरमा १ सय १६ जनाको रक्त परीक्षण र ९५ जनाको इसीजी पनि गरिएको छ । विरामीहरुको स्वास्थ्य परीक्षण गरेर औषधि पनि निःशुल्क वितरण गरिएको छ । स्वास्थ्य परीक्षणका लागि १५ जना डाक्टरहरुको टोली शिविरमा खटिएको थियो ।