मोरङ ६ बाट निर्वाचित भए देउवालाई चुनौती दिने शेखर कोइराला

  • ९ मंसिर २०७९, शुक्रबार

मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

एमालेका लालबाबु पण्डितलाई १२ हजार २८४ सय मतान्तरले छिन्दै सत्ता गठबन्धनका साझा उम्मेदवार कोइराला विजयी भएका हुन् ।

कोइरालाले ३५ हजार २१३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी पण्डितले २२ हजार ९२९ मत प्राप्त गरे । पहिलो संविधानसभाको उपनिर्वाचन र दोस्रो संविधानसभामा विजयी कोइराला यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पण्डितसँगै पराजित भएका थिए ।

बिक्रम सम्बत २०२७ मा महेन्द्र मोरङ क्याम्पसबाट नेविसंघको राजनीतिमा आबद्द हुँदै राजनीतिमा प्रवेश गरेका कोइरालाले २०२८ सालमा पार्टी सदस्यता प्राप्त गरेका थिए । पार्टीका ३ वटा महाधिवेशनबाट लगातार केन्द्रीय सदस्य बनेका कोइराला १४ औं महाधिवेशनमा कोइराला पक्षको नेतत्व गर्दै सभापतिको उम्मेदवार बनेपनि शेरबहादुर देउवासँग पराजित भए । हाल कोइरालाले सो पक्षको नेतृत्व गरिरहेका छन् ।