माघ पहिलो हप्ता धनकुटा आउँदै प्रधानमन्त्री प्रचण्ड

  • २२ पुष २०७९, शुक्रबार

धनकुटामा माघ ६ गतेदेखि माघ १६ गते सम्म हुन लागेको प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवं पाचौ धनकुटा महोत्सवको उद्घाटन गर्न प्रधान मन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) धनकुटा आउने टुंगो लागेको छ ।

प्रधान मन्त्री पुष्प कमल दाहालाई प्रधान मन्त्री तथा मन्त्री परिषदको कार्यालय सिहदरवार काठमाण्डौमा भेटेर धनकुटाको सर्वपक्षिय टोलीले सो निधो गरेको हो ।


धनकुटा महोत्सवको समुदघाटनका लागि निमन्त्रणा गर्न गएको सर्वपक्षीय टोलीमा कांग्रेस नेता सुनिल थापा, सांसद तथा मन्त्री राजेन्द्र राई, कांग्रेस धनकुटाका सभापति दिनेश राई, नेकपा एमाले धनकुटाका अध्यक्ष तथा प्रदेश सांसद इन्द्रमणी पराजुली, पूर्व राज्य मन्त्री तथा नेकपा माओवादी केन्द्र धनकुटामा संयोजक धनमाया विक, निवर्तमान प्रदेश सांसद कुसुम कुमारी श्रेष्ठ, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ, उपाध्यक्ष कृष्णराज श्रेष्ठ, कोषाध्यक्ष रुपेश श्रेष्ठ, महोत्सव आयोजक समितिका सदस्यहरु राजेश्वर वहादुर श्रेष्ठ, डालामु शोर्पा, नयन श्रेष्ठ लगायत सहभागी थिए ।


सो अवसरमा प्रधान मन्त्री प्रचण्डले धनकुटाको निम्तोलाई स्विकार गर्दै प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवं पाचौ धनकुटा महोत्सवको समुदघाटन गर्न धनकुटा आउने बताएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताए ।


पहिलो धनकुटा महोत्सव २०६५ सालमा भएको थियो, जसको उद्घाटन तत्कालिन सभामुख सुवासचन्द्र नेम्वाङ्गले गरेका थिए । बिक्रम सम्बत २०६८ सालमा भएको दोस्रो धनकुटा महोत्सव तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले समुदघाटन गरेका थिए । त्यस्तै तेस्रो धनकुटा महोत्सव २०७१ सालमा भएको थियो । यसअघि भएको चौथो धनकुटा महोत्सव तत्कालिन प्रदेश नम्वर १ का मुख्य मन्त्री शेरधन राईले समुदघाटन गरेका थिए ।