प्रधानमन्त्रीको निर्देशनमा मलेसियाबाट १३ जना नेपालीको उद्धार, २८ जना प्रतीक्षामा

  • २६ पुष २०७९, मंगलवार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्धार भएको छ ।
नेपालबाट मलेसिया गएका नेपालीहरू समस्यामा परेको गुनासो प्राप्त भएपछि सोमवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्धक बनाइएका र अन्य समस्यामा परेका नेपालीहरूको अवस्था बुझी तत्काल रिहाइ तथा उद्धारको पहल गर्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए ।
निर्देशनका आधारमा सरकारले परराष्ट्र मन्त्रालयमार्फत मलेसियामा रहेको नेपाली राजदूतावाससँग बन्धक बनाइएका नेपालीहरूको अवस्था बुझेर तत्काल उद्धारका लागि पहल गर्न निर्देशन दिएको थियो । सो पहलपछि मलेसियाको पीआरएस फरेस्ट म्यानेजमेन्ट कम्पनीमा कार्यरत १३ जना नेपाली नागरिक स्वदेश फर्किने भएका छन् ।
मलेसियामा अलपत्र परेका १३ जना सबै श्रमिकहरूलाई म्यानपावर कम्पनीले खर्च बेहोर्ने गरी र एक नेपाली होटलमा खाने र बस्ने व्यवस्था गरिएको छ । दूतावासको पहलमा उनीहरुमध्ये ६ जना भोलि मंगलबार र आउँदो शुक्रवार ७ जना नेपाल फर्कने भएका छन् । यसैगरी मलेसियाको एक अन्य कम्पनीमा समस्यामा परेका २८ जना नेपाली श्रमिकहरूको समस्या हल गर्न समेत पहल भइरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।