सिर्जना सामुदायिक वनका अध्यक्षले किर्ते बिल बनाएर बेचे लाखौंको काठ

  • ८ असार २०८०, शुक्रबार

मोरङको बेलबारी-११ मा रहेको सिर्जना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षले मनोमानी ढंगले काठ बिक्री गरेर आर्थिक अनियमितता गरेको पाइएको छ ।

नेपाली कांग्रेस बेलबारीका नगर सभापतिसमेत रहेका समिति अध्यक्ष छत्र लिम्बूले वन समूहका उपभोक्तालाई काठ दिएको कागजात बनाएर उपभोक्तालाई नदिई अन्यत्र लगेर बिक्री गरेको पाइएको हो ।
कार्यकाल सकिएर चुनावी साधारण सभा हुनुअगाडि लिम्बूले सामुदायिक वनको घाट गद्दीबाट काठ बिक्री गरेका थिए । लिम्बूले विभिन्न उपभोक्ता तथा केही संस्थाको नाममा किर्ते कागजात बनाई काठ बेचेको छानबिनमा क्रममा खुलेको हो ।

समितिकै केही उपभोक्ताहरूले अध्यक्षले अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा उजुरी दिएका छन् ।
आयोगको कार्यालयले डिभिजन वन कार्यालय मोरङलाई छानबिनका लागि पत्राचार गरेको थियो । डिभिजन वन कार्यालयले सब डिभिजन वन कार्यालय कानेपोखरीका वन अधिकृत अलाउद्दीन अन्सारीलाई अनुसन्धानका लागि खटाएको थियो । अख्तियारले वनलाई छानबिन तथा कारवाहीका लागि २ पटक पत्राचार गरेपछि मात्रै छानबिनको प्रक्रिया अगाडि बढाइएको थियो ।

कार्यसमितिको म्याद सकिएपछि अध्यक्ष लिम्बूले काठ दाउरा अनियमित तरिकाले बिक्री गरेको अलाउद्दीनले बताए । अध्यक्षको कार्यकाल सकिएपछि सबैभन्दा धेरै अनियमितता भएको छानबिननका क्रममा देखिएको वन अधिकृत अलाउद्दीनले बताए । ३ वर्षको कार्यकाल भए पनि लिम्बूले आफ्नो कार्यकालको अवधि सकिएको वर्ष दिनपछि मात्र साधारण सभा गराएका थिए ।

उनले कार्यकाल सम्हालेको ४ वर्षमा ९८७ क्युविक फिट काठ बिक्री गरेको छानबिनका क्रममा देखिएको अलाउद्दीनले बताए । उनका अनुसार सखुवा (साल)को काठ ४२७ किवी, बोट धँयरो ३०० किवी, र अन्य प्रजातिका २६० किवी काठ बेचेका थिए ।

‘अनियमित तरीकाले काठ बिक्री गरेको र खर्च पनि पारदर्शी नभई अनियमित तरिकाले गरेको देखिन्छ । कार्यसमितिमा निर्णय नगराइ मनोमानी ढङ्गले काठ बेचेको देखिन्छ । अध्यक्षले १७ लाख ५ हजार रुपैयाँ अनियमितता गरेको देखिएको छ’ अधिकृत अलाउद्दीनले भने ।

२०७८ असार मसान्तमा यो समितिको म्याद सकिएको थियो । समितिमा अल्पमतमा परेपछि सर्वदलीय बैठक गरेर लिम्बूले निर्णय गराउने गरेका थिए ।

आफू निकट कार्यसमितिका सदस्यहरू र दलका नेताहरूको उपस्थितिमा बैठक राखेर उनले निर्णय गर्ने गरेका थिए । काठ अनियमितता गर्ने कार्यमा उनले दलका नेताहरूलाई समेत प्रयोग गरेको पाइएको छ ।

नक्कली कागजात बनाएर उनले काठ उपभोक्ताभन्दा अन्यत्र लगेर बेच्ने गरेको खुलेको छ । उपभोक्ताका नाममा लिम्बूले नै बिल तिरिदएर काठ भने उनले लाने गरेको पाइएको अलाउद्दीनले बताए ।

‘जसका नाममा रसिद काटिएको छ उनीहरूले पैसा पनि तिरेका छैन्नन्’, वन अधिकृत अलाउद्दीनले भने ‘उनीहरूसँग बुझ्दा काठ दाउराका बिक्री कहिले भयो भन्ने नै उनीहरूले थाहा पाएका रहेनछन् ।’

उपभोक्ताको नाम प्रयोग गरेर महँगोमा काठ किनबेच भएको प्रतिवेदन डिभिजन वन कार्यालयमा बुझाएको अलाउद्दीनले बताए ।

उपभोक्ताको घरमा समितिले दिएको काठ छानबिन टोलीले नभेटाएको जनाएको छ । ‘बिक्री रसिदमा उपभोक्ताको नाम देखिन्छ तर, उनीहरूले काठ लगेको कतै पाइँदैन,’ अधिकृत अन्सारीले भने ‘विभिन्न संघ संस्थालाई दिएको भनिएको काठ पनि कागजमा मात्रै देखिएको छ ।’

लिम्बूको घर बेलबारी ८ हो । सोही वडामा रहेको बेलबारी ८ का धिरनाथ स्याम्फुल माविलाई ४ लाख बराबरको काठ सहयोग गरेको छानबिनका क्रममा लिम्बूले भनेका थिए । तर, विद्यालयले सिर्जना सामुदायिक वनबाट कुनै सहयोग प्राप्त नगरेको भन्दै वन अधिकृतलाई पत्र नै पठाएको थियो । कागजमा काठ देखिए पनि विद्यालयमा अहिलेसम्म काठ पुगेको छैन ।

लिम्बूले केही उपभोक्ताको नाममा काठ खरिद गरेको रसिद काटेका थिए । प्रतिकिवी १ हजार ६ सयदेखि ३ हजारको दरले काठ किनेको विवरण बनाइएको छानबिनमा भेटिएको जनाइएको छ ।

उपभोक्ता समितिको कार्यकाल तीन वर्षको हुने गरेको छ । समय अवधि सकिएपछि काठ नबेच्न सेक्टर वन कार्यालयले पत्राचार गरेको थियो । समयमै साधारणसभा गरेर नयाँ आउने कार्यसमितिलाई बिक्री वितरण गर्न दिनुपर्छ भनेपछि आफुहरुलाई बैठकमा बोलाउन छाडिएको एक सदस्यले बताए । – लोकान्तर बाट