काँकडभिट्टा–लौकही खण्डमा काटिंदैछन् राजमार्ग किनारका ११ हजार बढी रुख

  • ३ बैशाख २०८१, सोमबार

काँकडभिट्टादेखि लौकहीसम्मको कुल ९६ किलोमिटर सडकलाई ४ लेनमा विस्तार गर्न सडक क्षेत्रभित्र पर्ने ११ हजार ५ सय १३ वटा रुख कटानको काम पनि शुरु भएको छ ।
एसियाली विकास बैंक (एडीबी) र एसियाली इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईइबी)को कुल ४६ अर्ब रुपैयाँ लागत पूर्वपश्चिम राजमार्ग विस्तार गर्न योजना अनुसार हाल दुई लेनको सडकलाई चारलेनमा बिस्तार गर्ने काम थालिएको हो ।
कुल ९६ किलोमिटर सडक निर्माणका लागि प्रतिकिलोमिटर करिब ४७ करोड रुपैयाँ पर्ने देखिएको छ । झापामा ५४ दशमलव ९ किलोमिटर, मोरङमा २६ दशमलव २ किलोमिटर र सुनसरीमा २८ दशमलव ९ किलोमिटर सडकको स्तरोन्नति हुनेछ ।

सडक विस्तार कार्यलाई तीन खण्डमा विभाजन गरेर निर्माणका लागि ठेक्का आह्वान गरिएको छ, जसमा सडक खण्डमा पर्ने ६ वटा पुल निर्माणसमेत रहेको छ । यसको पहिलो खण्डमा निन्दा, बिरिङ र कन्काई नदी प्रमुख छन् ।

यस्तै दोस्रो खण्डमा रतुवा, बक्राहा र लोहन्द्रा पुल निर्माणका लागि पनि ठेक्का आह्वान गरिएको छ । आयोजनाका अनुसार सडक विस्तार कार्य तीन वर्षमा सम्पन्न हुने बताइएको छ ।

राजमार्गको केन्द्रबाट २५–२५ मिटरका सडकमा स्तरोन्नति हुनेछ । सडकलाई तीन भागमा विभाजित गरिएको छ । जसमा ग्रामीण तथा वन क्षेत्रमा २४ मिटर, अर्ध शहरी क्षेत्रमा ३३ मिटर र शहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडाइको सडक क्षेत्र हुने काकडभिट्टादेखि लौकही सडक पूर्वखण्ड आयोजना दमक कार्यालयका इन्जिनियर आशिष देवले बताए ।

इन्जिनियर देवका अनुसार सडक विस्तार गर्दा सडक क्षेत्रमा पर्ने रुख कटानको लागि पहिलो चरणमा झापाबाट रुखको नम्बरिङ र मूल्याङ्कन गरि कटान काम सुरु भएको छ । त्यसैगरी साइड क्लिरियरिङको काम पनि एकै साथ भैरहेको आयोजनाले जनाएको छ ।

पूर्वी खण्डको ठेक्का अजरबैजानको कम्पनी युरो एशियन कन्स्ट्रक्सन कर्पोरेसनले पाएको छ । उसले १० अर्ब रुपैयाँमा ४५ किलोमिटर सडक निर्माणको काम गर्ने गरी ठेक्का पाएको छ । अजरबैजानको कम्पनीसँग कालिका कन्स्ट्रक्सन ज्वाइन्ट भेन्चर रहेको छ ।

यस्तै पूर्वी खण्डका लागि भने चाइना रेलवे फर्स्ट ग्रुपले ठेक्का पाएको छ । जसको लागत ९ अर्ब १३ करोड रुपैयाँ रहेको छ । चिनियाँ कम्पनी फर्स्ट ग्रुपसँग नेपाली कम्पनी तोदी कन्स्ट्रक्सनको ज्वाइन्ट भेन्चर रहेको छ ।

यस्तै ८५ देखि ९७ किलोमिटरसम्मको इटहरी खण्डका लागि भने चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेडले ठेक्का पाएको छ । सो कम्पनीसँगको ज्वाइन्ट भेन्चर पनि तोदी कन्स्ट्रक्सन रहेको इन्जिनियर देवले जानकारी दिए । १२ किलोमिटर सडक र ३०० मिटरभन्दा छोटा पुल निर्माणका लागि ४ अर्ब ७ करोड रुपैयाामा ठेक्का लागेको पनि इन्जिनियर देवले जानकारी दिए ।

आयोजनाका अनुसार पूर्वी र इटहरी खण्डमा पर्ने खोलाहरूको पुल निर्माण सम्झौता भएका कम्पनीहरूले गर्नुपर्नेछ । ३ सय मिटरभन्दा लामा पुल निर्माणका लागि चाइना रेलवे ग्रुप २ र युरो एसियन कन्स्ट्रक्सन कर्पोरेसनले ठेक्का पाएको छ ।

जसअनुसार ती कम्पनीले निन्दा, विरिङ, कनकाई, रतुवा, बक्राहा र लोहन्द्रा पुल निर्माणको ठेक्का पाएका छन् । यी ६ वटा पुलको लागत ६ अर्ब रुपैयाँ रहेको छ । सडक क्षेत्रमा रहेका ४०४ वटा अस्थायी संरचना हटाउनु पर्नेछ । ती संरचना हटाउने प्रक्रिया सुरु भइसकेको छ ।

एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टामा डेढ किलोमिटर भागमा मेची पुल र चार लेनको सडक निर्माण भइसकेको छ ।

बंगलादेशबाट भारतको बागडोग्रा हुँदै पानीट्याङ्की नाकाबाट नेपालतिर सोझिने एसियाली राजमार्गको रुट नं २ अन्तर्गत भारतले मेची नदीमा एसियाली राजमार्गस्तरकै चार लेनको पक्की पुल निर्माण गरिदिएको छ ।

स्थलमार्गबाट एसियाका देशलाई जोडेर व्यापार र पर्यटन प्रवर्द्धन गर्ने सो राजमार्गको मूल अवधारणा हो । थाइल्यान्डको बैंककबाट सुरु हुने एसियाली राजमार्ग रुट–२ अन्तर्गत म्यान्मार, बंगलादेश र भारत हुादै नेपालको कााकडभिट्टाबाट पूर्वपश्चिम राजमार्गमा मिसिन्छ ।
सो राजमार्ग हालको पूर्वपश्चिम राजमार्ग भएर पश्चिम नेपालको बनबासा हुादै भारतको दिल्लीतर्फ जोडिने छ ।