करिब ४९ लाख लागतमा सृजना सामुदायिक वनले बनाउन थाल्यो भवन

बृक्षारोपण कार्यक्रम पनि सम्पन्न

  • १ श्रावण २०८१, मंगलवार



बेलबारी नगरपालिका वडा नं. १० मा रहेको सृजना सामुदायिक वन उपभोक्ता समुहले करिब ४९ लाख लागतमा निर्माण हुने भवन शिलान्यास तथा बृक्षारोपण कार्यक्रम गरेको छ ।
बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईको प्रमुख आतिथ्यतामा आइतबार भवन निर्माणको शिलान्यास तथा बृक्षारोपण गरिएको हो ।
तिनवटा कोठा र एउटा हलसहित १८ फुट चौडाइ र ९० फुट लम्बाइ हुने एकतले भवनमा २३ वटा पिलर रहनेछन् । पहिलो चरणमा पिलरसहित फण्डिसन निर्माण गर्न १० लाख बजेट ब्यबस्थापन गरिएको अध्यक्ष सुब्बाले बताए । सोही भवनको मेयर राइले शिलान्यास गरेका हुन् ।
निर्माण समिति मार्फत भवन निर्माणको काम शुरु भएको र एक बर्षभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको वन समुहका अध्यक्ष देउमान लिम्बुले बताए ।
त्यसैगरी समुहको खाली रहेको करिब ४ कट्ठा वन क्षेत्रको जग्गामा सत्तिसालको विरुवा रोपिएको छ । मेयर दिलप्रसाद राईले बिरुवा रोपेर वृक्षारोपणको उद्घाटन गरेका थिए ।
त्यसैगरी सो सामुदायिक वनले वर्तमान समितिले कार्यभार सम्हालेको एक वर्षमा गरेका कार्यको विवरण सार्वजनिक गरेको छ । समुहले पूर्व समितिले देखाएको २३ लाख रुपैयाँ दायित्व मध्ये १८ लाख दायित्व भूक्तानी गरिसकेको अध्यक्ष देउमान सुब्बाले बताए ।
समुहले कार्यालयलाई ब्यबस्थित गर्दै ल्यापटप लगायत आवश्यक सामान खरिद गरिएको, कार्यालय मर्मत गरिएको, बिजुलीको काटिएको लाइन जोडिएको, आर्थिक कारोवारलाई पारदर्शी बनाउन वैंकिङ प्रणालीको शुरुवात गरिएको, विपन्नता सहायता कोषबाट मुटु र मृगौला रोगका विरामी उपभोक्ताहरुलाई उपचार सहयोग गरिएको, लकडी व्यवस्थापनका लागि घाटगद्दी निर्माण गरिएको, वन व्यवस्थापन कार्यक्रम अन्तर्गत फायरलाई निर्माण तथा सडक वत्ती जडान लगायतको कार्यृहरु गरेको अध्यक्ष लिम्बुले बताए ।
पुराना मौज्दात लकडी बिक्री तथा नयाँ निकासी गरी आर्थिक बर्ष २०८०/०८१ को अबधिमा ४५ लाख आम्दानी गरिएको अध्यक्ष सुब्बाले जानकारी दिए । कार्यालय शिलान्यास तथा बृक्षारोपण कार्यक्रममा समितिका केहि पदाधिकारीहरु नै अनुपस्थित थिए ।