शिशु जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गराए एक हजार भत्ता

  • ४ भाद्र २०७५, सोमबार

बाँकेको बैजनाथ गाउँपालिकाले शिशु जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गराए एक हजार भत्ता दिने भएको छ । जन्म, मृत्युलगायत हरेक कुरामा कर लगाएको भन्दै स्थानीय सरकारको चौतर्फी आलोचना भइरहेको बेला बैजनाथपूर गाउँपालिकाले भने प्रोत्साहन भत्ता दिने भएको हो ।

यद्यपी गाउँपालिकाले ३५ दिन कटेमा भने ५० रुपैयाँ जरिवाना गर्ने भएको छ । जन्मदर्ता र मृत्यु दर्ता गराउँदा ३५ दिन कटेमा ५० रुपैयाँ जरिवाना तिर्नुपर्ने छ भने नागरिकतालगायत अन्य सिफारिसमा भने पुरानै शुल्क तोकिएको छ ।

यसगरी सो गाउँपालिकाले जन्मदर्ता गर्न आउँदा स्वास्थ्य केन्द्रमै अनिवार्य सुत्केरी भएको हुनुपर्ने जनाएको छ ।

बैजनाथ गाउँपालिका प्रमुख मानबहादुर रुचालले भने, ‘हामीले आमाको स्वास्थ्यलाई मध्यनजर गरी प्रोत्साहन भत्ता दिने निर्णय गरेका हौं । भत्ता पाउन स्वास्थ्य केन्द्रको सिफारिस अनिवार्य गरेका छौं ।’