केराबारी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न : खोला, कुलोदेखि बिकास निर्माणसम्मका गुनासा

  • १७ पुष २०७५, मंगलवार

मोरङको सबैभन्दा ठुलो स्थानीय तह केराबारी गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।

सोमबार केराबारी ८ स्थित हजारबिघा सामुदायिक वनको हलमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा केराबारी ६, ७, ८,९, १० र ३ वडाबाट आएका जनप्रतिनिधि,  संघ संस्थाका प्रतिनिधि तथा अन्य आमन्त्रितहरुको सहभागिता थियो । मकालु टेलिभिजनले ठेक्का लिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रसाशकीय अधिकृत तथा १० वटै वडाका वडाध्यक्षहरुलाइ मन्चमा राखिएको थियोे ।

चालुु आर्थिक बर्ष ०७५/०७६ को प्रथम चौमासिक बजेटको नीति तथा कार्यक्रम अनुसार गरिएको सार्वजनिक सुनुवाइमा प्रमुख प्रसाशकीय अधिकृत पुण्यप्रसाद पौडेलले प्रथम चौमासिक अबधिको प्रगति बिवरण पेश गरेका थिए ।

कार्यक्रममा चालु आर्थिक बर्षको चार महिनाभित्र गरेका प्रगति तथा आगामी दिनमा सुधार गर्नुपर्ने बिषयमा छलफल भएको थियो । गतबर्ष एक पटक मात्रै सार्वजनिक सुनुवाइ गरेको भएपनि चालु आर्थिक बर्षदेखि सुशासन तर्फ जोड दिदै केराबारीलाई उत्कृष्ट गाउंपालिका बनाउन योजना कार्यान्वयन, नीति तथा कार्यक्रम र जनगुनासाबारे छलफल गरी प्रष्ट पार्न नियमित रूपमा चौमासिक  सार्वजनिक सुनुवाई शुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

सार्वजनिक सुनुवाईमा स्थानीयले खदम लगायतका खोला उत्खनन र त्यसले निम्त्याएका समस्या एवम्  बातावरणीय असर, कुलो तथा सिंचाइको समस्या, पुल तथा बाटोघाटो, प्रस्तावित मदन भण्डारी राजमार्ग, बिद्यालय, खेलकुद, कृषि  आदि बारेमा गुनासो तथा समस्या राखेका थिए ।

करिब ४ बजेसम्म भएको कार्यक्रममा गाउंपालिकाले पिउने पानी र चियानास्ताको ब्यबस्थासम्म नगरेको बिषयमा पनि जनताले गुनासो राखेका थिए । एक सहभागीलेे लाखौंं करोडौं रुपैयाँ खर्च गर्नसक्ने गाउँपालिकाले सहभागीलाई नास्ताको ब्यबस्था पनि नगर्नुको कारण सोधेपछि गाउँपालिका अध्यक्षले खाजा खुवाएर सेवाग्राहीलाई प्रभावित पार्न खोजेको भान नपरोस् भनेर केही नदिइएको चलाखीपुर्ण जवाफ दिंदा हलमा हांसो छाएको थियोे । हुन पनि आमन्त्रित र सबै सहभागीहरुलाइ खानेपानीको समेत ब्यबस्था थिएन ।

सार्वजनिक सुनुवाईमा गाउँपालिका अध्यक्ष रोहित कार्की, उपाध्यक्ष शान्ति कुमारी लिम्बू भूजेल, प्रमुख प्रशासकीय अधिकृत पुण्यप्रसाद पौड्याल र केही वडाध्यक्षले प्रश्नकर्ताहरुको प्रश्नको जवाफ दिएका थिए ।