मालपोतको अनलाईन प्रणालीले सेवाग्राहीलाई झन् सास्ती, जनताका गुनासै गुनासा

  • ५ माघ २०७५, शनिबार

केशु विरही, बेलबारी, मोरङ/ सेवाग्राहीको काम छिटो र छरितो ढङ्गबाट सम्पन्न होस् भनेर सरकारले मालपोत कार्यलयहरुलाई अनलाईन प्रणालीमा लगेको छ तर मालपोत कार्यालय बेलबारीमा यो प्रणाली लागु भएपछि सेवाग्राहीले आफूहरुले सुविधाभन्दा पनि सास्ती व्यहोर्नु परेको गुनासो गरेका छन् ।
मालपोत कार्यलय बेलबारीमा भेटिएकी कानेपोखरी गाउँपालिका मोरङकी भीमा लुईटेलले गुनासो गर्दै भनिन् ‘लामो समयदेखि आज हुन्छ कि भोलि हुन्छ कि भन्दै धाइरहेकी छु । कर्मचारीहरु कहिले सर्भर छैन भन्छन्, कहिले नेट छैन भन्छन् ।

सुन्दरहरैंचाका गणेश पराजुलीको गुनासो पनि उस्तै छ । उनी पनि लामो समयदेखि आज हुन्छ कि भोलि हुन्छ कि भन्दै धाइरहेको तर काम नभएको वताउँछन् । तर आफूभन्दा पछि आएका मानिसको काम भएको देख्दा उनी यहाँ रकम लेनदेन पो हो कि भन्ने आशंका गर्दछन् ।

कानेपोखरीकी भीमा र सुन्दरहरैंचका गणेश मात्र होइन यहाँ सेवा लिन आउने अधिकांशको गुनासो यस्तै रहेको छ । उनीहरु भन्छन् पहिलाभन्दा अनलाइन प्रणली लागु भएपछि झनै सास्ती भयो ।
पूर्व पश्चिम लोकमार्गमै जोडिएको बेलबारी नगरपालिका वार्ड नं ३ मा रहेको यो मालपोत कार्यालयले आफूलाई १ सय ४७ औ शाखाका रूपमा अनलाइन सेवा दिन थालेको दुइ हप्ता वित्न नपाउँदै सेवाग्राहीका गुनासाहरुका चाङ लागेका छन् ।
अनलाईन प्रणालीमा लगेपछि काम ढिलो भएको, आफूहरुलाई झनै सास्ती भएको सेवाग्राहीहरु मात्र गुनासो गरिरहेका थिएनन् । यहाँ कार्यरत कर्मचारी समेत यस्तै गुनासो गरिरहेका थिए । ‘अब यस्तै हो भने मालपोतमा काम गर्ने कर्मचारी पाउनै कठिन हुन्छ’ भनेर आफ्ना हाकिमकै अघि गुनासो गरिरहेका समेत भेट्टिए ।

आफूले रोक्का गरेका जग्गा समेत आफ्नै आईडी प्रयोग भएर राजीनामा पास भएको सिस्टमले देखाएपछि मालपोत अधिकृत दधिराम गुरागाईलाई छाँगाबाट झरे झैँ भएको वताउछन् ।

यता सेवाग्राही भने कर्मचारी र लेखापढी व्यवसायी मिलेर आर्थिक चलखेलका लागि प्रणालीको वाहानामा काम ढिलो गरेको, रकम नदिनेको काम भने ढिलो हुने गरेको आरोप लगाउँछन् तर नेपाल लेखापढी व्यवसायी संघका अध्यक्ष प्रेमसागर ढुङ्गेल यो आरोपलाई खण्डन गर्छन । यो आरोपमा कुनै सत्यता नभएको वताउँछन् ।

यसबारेमा कुरा गर्दा मालपोत कार्यालय बेलबारीका प्रमुख योगेन्द्रप्रसाद दुलाल नयाँ प्रविधि र अनुभवहीन कर्मचारीका कारणले यो समस्या आएको वताउँछन् । साथै दक्ष जनशत्ति नपठाई विभागले हतारमा प्रविधि ल्याउँदा यो समस्या आएको उनको भनाई थियो ।

जनतालाई छिटो र छरितो ढङ्गबाट सेवादिने भनेर ल्याइएको प्रणलीबाटै जनताले सास्ती व्यहोर्नु राम्रो होइन । के भएको हो सत्यतथ्य पत्ता लगाउनेतर्फ सरोकारवालाको चाँडै ध्यान जानु आवस्यक छ ।