च्याउ खेतीबाट मासिक डेढ लाखसम्म आम्दानी गर्दै ईन्द्र

  • १४ फाल्गुन २०७५, मंगलवार

केशु विरही, सुन्दरहरैंचा, मोरङ/ बिहान उज्यालो हुन नपाउँदै सुन्दरहरैंचा मोरङका ईन्द्रप्रसाद तिम्सिना आफ्नो च्याउ फाममा पुगिसकेका हुन्छन् । बिहान चिया समेत पिउन नपाउँदै उनी त्यहाँ पुग्छन् । ६ बजेसम्ममा उनले प्राय टिप्नु पर्ने सबै च्याउ टिपिसकेका हुन्छन ।
बिहानै उठ्नु च्याउ फाममा पुग्नु, फामबाट च्याउ टिपेर बजार बजारमा पुर्याउनु उनको दैनिकीजस्तै बनेको छ । बिहान ५ देखि ९ बजेसम्मको समयमा उनी यति व्यस्थ रहन्छन् कि कसैले फोन गर्दा उठाउन समेत भ्याउदैनन् ।
यो कार्यमा उनकी धर्मपत्नी उमाले उनलाई भरपुर सहयोग पुर्याउदै आएकी छिन । आफ्ना दुईजना छोराहरुलाई ओछ्यानमै छाडेर श्रीमानसँगै उनी पनि झिसमिसमै च्याउ फाममा पुगिसकेकी हुन्छिन । श्रीमानले टिपेर ल्याएको च्याउ प्याकिङ र तौल गर्नमै उनी व्यस्त रहन्छिन । उनलाई यो दैनिकीप्रति कुनै गुनासो छैन । उनी खुसी देखिन्छिन् ।
“स्वदेसमै लगानी गरेर राम्रो कमाई गर्न सकिएको छ । आफ्नो परिवारसँगै बस्न पाइएको छ । यो भन्दा खुसीको कुरा के हुन सक्छ र” च्याउ प्याकिङ गर्दै गरेकी उमाले यसो भनिन् ।
ईन्द्रको पुरानो ठेगाना भने म्याङ्लुङ –४ तेह्रथुम हो । ६ वर्षअघि तराईतिर झरेका ईन्द्रले बसोवासको लागि सुन्दरहरैंचा नगरपालिकालाई रोजे । उनले पूर्व पश्चिम लोगमार्गको सुन्दरहरैंचा सडकखण्डको बाँसबारी चोकदेखि ५ सय मिटर दक्षिणमा ४ विगाहा जमिन प्रति विगाहा ४० हजारका दरले लिजमा लिए । ४ विगाहामध्ये ८ कठ्ठा जमीनमा च्याउ खेती गर्न थाले । विगत ३ वर्षदेखि उनले त्यहाँ लगातार रुपमा च्याउखेती गरिरहेका छन् ।
उनले आफ्नो च्याउखेतीलाई उद्योगकै रुपमा विकास गरेका छन् । त्यहाँ उनले संचालन गरेको सगरमाथा च्याउ उद्योग छ । जुन सडक वारपार गर्ने जाेकाेहिले पनि देख्न सक्छन् ।  हाल उनको उद्योगमा ४ मिटर चाैडाई र ११ मिटर लम्बाईका सातवटा टहराहरु छन् । ती टहराभित्र रहर लाग्दा च्याउ अंकुरण हुँदै गरेको दृश्य देख्न सकिन्छ । झन लहरै झुण्ड्याइएका पोकाहरुले त्यहाँ हेर्न आउने जोकोहीको पनि मन खिच्ने गर्छ । उनी वर्षेनी टहरा थप्दै आएका छन् । उनी यसपालि पनि ३ वटा टहरा थपेर १० वटा  टहरा पुर्याउने सोचमा छन् ।
थोरै पुजीमा छोटो समयमा बढि आम्दानी लिन सकिने हुनाले यो पेसामा लागेको च्याउ कृषक इन्द्र वताउँछन् ।
च्याउ खेतीबाट मासिक १ लाख देखि १ लाख ५० हजार सम्मकाे कमाई 
ईन्द्रकाे च्याउ फामबाट दैनिक रुपमा एकसय देखि एकसय ५० केजी सम्म च्याउ उत्पादन हुने गरेको छ । अहिले च्याउको सरदर बजार मूल्य प्रति केजी २ सय रहेको छ । तर उनको फमबाट च्याउ प्रतिकेजी रु १ सयदेखि १ सय ५० सम्ममा विक्री हुने गर्छ । जसले गर्दा उनको उद्योगबाट खरिद गरेर लैजानेले पनि राम्रै कमाई गर्न सकेका छन् ।
च्याउखेतीबाट उनी दैनिक १५ हजार कमाउँछन् । सबै खर्च कटाएर पनि उनी मासिक १ लाखदेखि १ लाख ५० हजारसम्म सम्म कमाई गर्दै आएको वताउँछन् ।
उनले संचालन गरेको सगरमाथा च्याउउद्योगबाट सातजनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् भने परोक्ष रुपमा भने धेरैले रोजगारी पाइरहेका छन् ।
उनले च्याउ खेतीसँगै बाँकी रहेको जमीनमा धान खेती पनि गर्ने गर्छन । जसले गर्दा परिवारलाई खाने अन्न र च्याउ खेतीलाई चाँहिने पराल पनि आफै उत्पादन हुन गर्छ । आफ्नै धान खेतीबाट आउने परालले च्याउ खेतीलाई चाहिने परालले नधाने पनि सहयोगी भने भएको उनको ठहर रहेको छ ।
बजारकाे कुनै समस्या छैन 
उनी च्याउ खेतीको बजारमा कुनै समस्या नरहेको उत्पादन गर्न सके व्यपारीले फाममै आएर पनि लैजाले बताउँछन् । अझ ताजा च्याउलाई सुकाएर धुलो बनाउने प्रविधि भित्रयाउन सकेमा यो खेतीबाट अझ राम्रो आम्दानी लिन सकिने उनको मत रहेको छ ।
स्वदेशमा केही हुन्न भनेर भएभरको जायजेथा वन्दकी राखेर विदेसिने लहड चलिरहेको वेलामा इन्द्रले स्वदेशमै लगानी गरेर मनग्गे आम्दानी लिन सकिन्छ भन्ने राम्रो उदाहरण दिएका छन् । अरुले पनि ईन्द्रबाट प्रेरणा लिएर स्वदेशमै लगानी वढाउनतर्फ लाग्नु पर्ने देखिन्छ र उनीजस्ता मिनेती कृषकलाई सहयोग गर्न सके राज्यले भन्ने गरेको ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारा सफल होला नत्र यो नारा नारामै सिमित हुन वेर छैन ।