सुकुना क्याम्पसमा स्कुले शिक्षकहरुको रजाइँ, दोहोरो सुबिधा विरुद्ध जाग्न थाले विद्यार्थी
दोहोरो सुबिधा रोकेमा शिक्षा शाखा प्रमुखलाई नै सरुवा गरिदिने धम्की
- २२ फाल्गुन २०७५, बुधबार
मोरङको सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीकुमार श्रेष्ठलगायतले शिक्षा ऐनविपरीत दोहोरो सुविधा लिने गरेको पाइएको छ ।
सुकुना क्याम्पसमा सामुदायिक विद्यालयका स्थायी शिक्षक बलराम पोखरेल, गणेश दाहाल, नारायण गौतम, खगेन्द्र सुवेदी, महेश रेग्मी,गुरुप्रसाद अधिकारी, ठाकुर सुवेदी लगायत १९ शिक्षकले यस्तो सुविधा लिएको सार्वजनिक भएपछि नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समितिको नेतृत्वमा विद्यार्थीले क्याम्पस प्रसासनमा ज्ञापनपत्र समेत बुझाएका छन् ।
१९ जनामध्ये पञ्चायत मावि गोठगाउँका प्राचार्य गुरुप्रसाद अधिकारी र शिक्षा निकेतन माविका प्राचार्य ठाकुर सुवेदीले पनि सुकुना क्याम्पसबाट सुबिधा लिइरहेका छन् । सुवेदी क्याम्पसमा गणित विभाग प्रमुख छन् भने अधिकारी अंग्रेजी विभाग प्रमुख छन् ।
सामुदायिक विद्यालयका स्थायी शिक्षक रहेका उनीहरू बिहान सुकुना क्याम्पसमा पढाउने र दिउँसो दरबन्दी भएको सामुदायिक विद्यालयमा जाने गरेका छन् ।
विद्यार्थी, स्थानीय नागरिक र सम्बन्धित निकायले पटकपटक खबरदारी गर्दा पनि दोहोरो सुविधा नछाडेकोले आन्दोलन गर्नुपरेको नेबिसंघ सुकुना क्याम्पस इकाई सभापति बिजय तोलाङ्गीले बताए ।
दुइ स्थानबाट सञ्चयकोषमा रकम जम्मा नहुने भएकाले उनीहरूले क्याम्पसबाट कोषमा कट्टी हुने १० प्रतिशत र राज्यबाट थप हुने रकम तलबमा गाभेर लिने गरेको क्याम्पस स्रोतले जनाएको छ ।
क्याम्पस प्रशासनलाई शिक्षा ऐनविपरीत दोहोरो पूर्णकालीन सुविधा तत्काल हटाउने लगायतका ६ बुदे ज्ञापनपत्र बुझाएको नेबिसंघले एक बिज्ञप्ति समेत निकालेको छ । बिज्ञप्तिमा माग पुरा नभएमा आन्दोलनको जस्तोसुकै आँधिबेरी श्रृजना हुने र उक्त परिस्थितिको जिम्मेवार क्याम्पस प्रसासन हुनुपर्ने चेतावनी दिइएको छ ।
बिज्ञप्तिमा शिक्षकहरुको दोहोरो सुविधा हटाउनुपर्ने लगायत इलाइब्रेरी तत्काल सन्चालन गरिनुपर्ने, क्याम्पस बस सन्चालन गरिनुपर्ने, खेलकुद शुल्क घटाउनुपर्ने, साइन्स ल्याबमा तत्काल पर्याप्त मात्रामा सामाग्रीहरु व्यवस्था गरिनुपर्ने र बिद्यार्थी वेलफेयर शुल्क घटाउनुपर्ने माग गरिएको छ ।
क्याम्पस प्रमुख लक्ष्मी श्रेष्ठले आफुले दोहोरो सुबिधा लिएको स्विकार्दै शिक्षा विभागको स्वीकृति र क्याम्पस व्यवस्थापन समितिको सहमतिमै दोहोरो पूर्णकालीन सुविधा लिएको दाबी गरे । वैशाखदेखि विद्यालयबाट बेतलबी बिदा लिएर वा राजीनामा गरेर दोहोरो सुविधा लिन छाड्ने श्रेष्ठले बताए । उनी सुकुना माविका प्राचार्य समेत हुन् । उनले दुवै संस्थाबाट तलब लिने गरेका छन् ।
शिक्षा ऐनमा दोहोरो पूर्णकालीन सुविधा लिन पाउने व्यवस्था नभए पनि परिस्थितिका कारण आफुले दोहोरो सुबिधा लिएको उनले दाबी गरे । उनले क्याम्पसमा यस्तो सुविधा लिने आफू मात्र नभई अरू पनि भएको रहस्योद्घाटन गरे ।
दोहोरो सुबिधा लिन नदिए शिक्षा शाखा प्रमुखलाई नै सरुवा गरिदिने धम्की
त्यसो त सुन्दरहरैंचा नगरपालिका अन्तरगतको शिक्षा शाखाले पनि शिक्षकहरुले लिने दोहोरो सुबिधा रोक्ने पहल थालेको छ । तर नियमविपरीत दोहोरो सुविधा नलिन निर्देशन दिँदा सुकुना क्याम्पसबाट दोहोरो सुबिधा लिइरहेका शिक्षक मध्ये केहीले आफूलाई रोल्पा सरुवा गरिदिने चेतावनी दिएको सुन्दरहरैंचा नगरपालिका शिक्षा शाखा अधिकृत सन्तोष बरालले बताए । नियमविपरीत सुविधा नलिन पटक पटक आग्रह गर्दा ‘उल्टै धम्की आएको बरालले बताए ।
सामुदायिक विद्यालयमा कार्यरत रही दोहोरो सुबिधा लिने शिक्षकहरुको अब उप्रान्त तलब निकासी गर्दा शिक्षा शाखाले हस्ताक्षर नगर्ने र आउँदो चौमासिक तलब रोक्का गरिने उनलेे दाबी गरे ।