आमजुँगीमा मोरङसुनसरी समाजको नि:शुल्क आँखा शिविर, १ सय ८४ जनाको आँखा जाँच

मोतिबिन्दुका ३० जना बिरामी फेला

  • २५ फाल्गुन २०७५, शनिबार

मोरङसुनसरी सेवा समाज नेपालको आयोजना र रामलाल गोल्छा आँखा अस्पताल बिराटनगरको प्राबिधिक सहयोगमा मोरङको केराबारी ८ आमजुँगीमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ ।

आमजुँगीस्थित आमजुँगी आधारभुत विद्यालय परिसरमा शनिबार भएको आँखा शिविरमा ८९ महिला र ९५ पुरुष  गरि १ सय ८४ जनाले आँखा जाँच गराएका थिए । आयोजकका अनुसार रामलाल गोल्छा अस्पतालका डाक्टरहरुले जाँच गर्दा आँखाका बिरामी मध्ये ३० जना मोतिबिन्दुका बिरामी भेटिएका छन् । मोतिबिन्दुका सबै बिरामीलाई थप उपचार तथा अप्रेसनका लागि रामलाल गोल्छा आँखा अस्पताल बिराटनगर रिफर गरिएको र उनीहरूको पनि नि:शुल्क उपचार हुने अस्पतालले जनाएको छ ।

आँखा शिविरका लागि आर्थिक ब्यबस्थापन तथा स्थानीय आयोजक केराबारी गाउँपालिका, केराबारी ८ नम्बर वडा कार्यालय र  मोरङसुनसरी सेवा समाज बहराइन रहेका थिए ।

मोरङसुनसरी सेवा समाजले यसअघि पनि विभिन्न स्थानमा आँखा शिविर आयोजना गर्दै आएको थियो । विभिन्न मानवीय सेवामा कार्यरत समाजले यसअघि १४  पटक आँखा शिविर आयोजना गरिएको र यस पटकको आँखा शिविर १५ औं शिविर भएको मोरङसुनसरी सेवा समाजले जनाएको छ ।

मोरङसुनसरीको चाहना, सभ्य र समृद्ध समाजको स्थापना भन्ने नारासहित सामाजिक कार्यमा सक्रिय रहँदै आएको  मोरङसुनसरी सेवा समाज २०६८ सालमा स्थापित भएको थियो । समाजका कतार, बहराइन, युएई लगायतका मुलुकमा समेत शाखा बिस्तार भइसकेका छन् ।