औषधि भन्दै किनेको जडिबुटी खाँदा धनकुटामा एकको मृत्यु, पाँच घाईते

  • २९ फाल्गुन २०७५, बुधबार

धनकुटा / औषधी भन्दै खानामा जडिबुटी मिसाएर  खाएपछि धनकुटा नगरपालिका ९ का माधब प्रधानको मृत्यु भएको छ।

सोमबार बेलुकीको खानामा जडिबुटी मिलाएर खाएपछि  सुतेका प्रधान राती बिरामी भएका थिए । उनको मंगलबार विहान उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

धनकुटा नगरपालिका वडा नं.९ बेलहाराका ६२ बर्षिय  प्रधानको परिवारका छ जनालाई पनि रिंगटा लाग्ने र बान्ता आउन थालेपछि छिमेकीले धरानस्थित बिपि कोईराला विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगेका थिए। प्रधान परिवारका बिरामी परेका थप चारजना धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङले बताए ।

मृतक प्रधानले भेडेटारस्थित पाथिभारा मन्दिर दर्शन गर्न जाँदा मन्दिर छेउमा बेच्नका लागि राखिएको जडिबुटी किनेर ल्याएका थिए। जडिबुटी बेलुका खानामा मिसाएर खाने भनेपछि सोहि अनुसार खाएर सबै परिवार बिरामी परेका पारिवारिक स्रोतको भनाई छ। जडिबुटी विषाक्त भएकाले परिवार नै विरामी परेको हुनसक्ने भएपनि प्रहरीले थप अनुषन्धान गरिरहेको जनाएको छ ।

विरामी हुनेमा उनीकी ६१ बर्षिय श्रीमती नरमाया प्रधान, ३७ बर्षिय छोरी सिमा प्रधान, ३१ बर्षिय छोरी कविता प्रधान, ३१ बर्षिय ज्वाई दिपक प्रधान र नाती ११ बर्षिय कुशल प्रधान रहेको प्रहरीले जनाएको छ।