सुकुनाका स्कुले शिक्षकको बिरोध र समर्थन गर्नेहरुबिच झडप, केही विद्यार्थी घाइते
- १३ चैत्र २०७५, बुधबार
सुकुना क्याम्पसमा स्कुले शिक्षकहरूले लिएको दोहोरो सुविधाको विरोधमा नेबिसंघ सुकुना बहुमुखी क्याम्पस एकाई समितिले गरेको आन्दोलनको क्रममा बुधबार अखिलका कार्यकर्तासँग झडप हुँदा नेबिसंघका केही कार्यकर्ता घाइते भएका छन् ।
बुधबार बिहान दोहोरो सुबिधाको बिरोधमा उत्रिएका नेबिसंघका कार्यकर्तामाथि अनेरास्ववियुका कार्यकर्ताले आक्रमण गरेका थिए ।
आक्रमणबाट नेबिसंघ क्षेत्रीय सभापति होमनाथ पोख्रेल, नेबिसंघ सुकुना क्याम्पस इकाई सभापति बिजय तोलाङ्गी, सचिव समीर मगर र सदस्य जीवन बस्नेत लगायत घाइते भएका छन् । उनीहरूको नोबेल अस्पताल बिराटनगरमा उपचार भइ रहेको नेबिसंघले जनाएको छ । नोबेल अस्पतालमा उपचार भइरहेकामध्ये तोलाङ्गीको टाउकोमा ६ वटा टाँका लगाइएको छ । झडपबाट अखिलका केही कार्यकर्ता पनि घाइते भएका छन् ।
सुकुना बहुमुखी क्याम्पसका प्राध्यापकहरुले लिएको दोहोरो सुविधाको विरोधमा शान्तिपूर्ण आन्दोलनको क्रममा अखिलका विद्यार्थीहरुले नेबिसंघका बिद्यार्थीमाथि योजनाका साथ आक्रमण गरेको नेबिसंघको आरोप छ । अखिलले पनि नेबिसंघले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको दाबी गरेको छ ।
अनेरास्ववियु र नेविसंघबीच दोहोरो झडप हुँदा सुकुना बहुमुखी क्याम्पस तनावग्रस्त बनेको थियो । विहान ८ बजेटबाट सुरु भएको झडपका कारण झन्डै दुई घण्टा क्याम्पस परिषर रणमैदान बन्न पुग्यो । प्रहरीले हस्तक्षेप गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो ।
क्याम्पसका प्राध्यापकहरुले अन्यत्र पनि पठन पाठन गराएर दोहोरो सुविधा लिने गरेको भन्दै त्यसको विरोधमा गत फागुन २० गतेदेखि सुकुना क्याम्पसमा नेविसंघले आन्दोलन गरिरहेको छ । नेविसंघ सुकुना बहुमुखी क्याम्पसका पूर्व सभापति सुमन ढकालले क्याम्पसका प्राध्यापकहरुले लिइरहेको दोहोरो सुविधाको विरोधमा आन्दोलन गर्दा अखिल सम्बद्ध विद्यार्थीले अवरोध गरेपछि दोहोरो झडप भएको बताए। सुकुना क्याम्पसमा प्राध्यापन गर्ने १९ जना प्राध्यापकले अन्यत्रका क्याम्पस र सरकारी विद्यालयमा पनि पढाएर दोहोरो सुविधा लिइरहेकाले शिक्षकले लिंदै आएको दोहोरो सुविधा तत्काल बन्द गर्नु पर्ने आफूहरुको माग रहेको उनले बताए ।
अखिलका क्याम्पस कमिटी अध्यक्ष मिलन बस्नेतले भने नेविसंघले पठन पाठन अवरुद्ध गर्दै आन्दोलन थालेपछि त्यसो नगर्न आग्रह गर्दा झडपको स्थिति उत्पन्न भएको दाबी गरे ।
क्याम्पस प्रमुख लक्ष्मीकुमार श्रेष्ठले नेविसंघले पूर्व जानकारी बिना नै क्याम्पसमा धर्ना दिएर पठन पाठन बन्द गराउँदै आन्दोलन थालेको बताए । उनले क्याम्पसका प्राध्यापकहरुले दोहोरो सुविधा नलिएको दाबी गर्दै सरकारको लगानी नै नभएको क्याम्पसमा पढाउँदा लिने सुविधा र अन्यत्र काम गर्दा लिने अतिरिक्त सेवा शुल्कलाई जोडेर दोहोरो सुविधाको नाम दिंदै शैक्षिक वातावरणमै असर गर्ने गरी लामो समयदेखि आन्दोलन भइरहेको बताए ।
श्रेष्ठले क्याम्पसमा भएको असामान्य गतिविधीको अन्त्यका लागि बिहीबार सर्वपक्षिय बैठक र छलफलको आब्हान गरिएको बताए ।
यसअघि मंगलबार सत्तारुढ दल नेकपाको भातृ संगठन अनेरास्ववियु सुकुना क्याम्पस कमिटीले प्रेस विज्ञप्ति निकालेर दोहोरो सुविधा शिक्षा ऐन बमोजिम भएको दाबी गर्दै बिरोध गर्नेहरुको खुट्टा भाच्ने धम्की दिएको थियो ।
केहि अशिष्ट र अमर्यादित भाषासहित निकालिएको भनिएको बिज्ञप्तिमा दोहोरो सुबिधाको नाममा सुकुना बहुमुखी क्याम्पसको बिरोध गर्नेलाई अस्पतालमा गएर आंँखा जाँच गरी चस्मा लगाउन उपदेश मात्र दिइएको थिएन , खुट्टा भाच्ने चेतावनी पनि दिइएको थियो । विज्ञप्तिमा ‘क्याम्पसको शिक्षको गुणस्तरमा कमी आउन नदिन र त्यस्तो गतिबिधिमा संलग्न जो कोहीको खुट्टा भाच्न समेत संगठन तयार रहेको’ धम्कीपुर्ण भाषा उल्लेख गरिएको थियो । विज्ञप्तिमा शिक्षा ऐन अनुसार नै नियम र कानुन पूरा गरी शिक्षकहरुले अध्यापन गराईरहेको दाबी गरिएको थियो ।
एउटा अनलाइनले उधृत गरे अनुसार हालसम्म देखा नपरेको विज्ञप्तिमा ‘नेपाली काग्रेसका जिल्ला तथा स्थानीय तहका स्थानीय नेताहरु र कांग्रेसको विद्यार्थी संगठन ने.वि संघबाट क्याम्पसको गरिमा र अध्ययन अध्यापनको वातावरणलाई असर पर्ने गरी भईरहेको गतिबिधि प्रति अनेरास्ववियु मुखदर्शक भएर बस्न नसक्ने र यस्ता गतिबिधिको बिरुद्धमा परिआए भैतिक रुपमा जवाफ र्फकाउन समेत तयार रहेको’ जनाईएको थियो ।
शिक्षकहरुले दोहोरो सुविधा लिएकोबारे सबैभन्दा पहिले गत फागुनमा एक राष्ट्रिय दैनिकमा समाचार प्रकाशित भएको थियो । त्यस लगत्तै नेबिसंघ सुकुना क्याम्पस इकाइले दोहोरो सुबिधा बन्द गर्न माग गर्दै क्याम्पस प्रशासनलाइ ज्ञापनपत्र समेत बुझाएपछि अरु मिडियाहरुमा त्यसबारे समाचार प्रकाशित भएको थियो । सो बिषय केही दिनअघि राष्ट्रिय सभामा समेत पुगेको थियो । सुकुना क्याम्पसका प्राध्यापकहरुले भने आफुहरुले शिक्षा ऐन बमोजिम प्रक्रिया पुर्याएर अध्यापन गरिरहेको दाबी गरेका छन् ।