रमिला राईको हत्याबारे प्रहरी अनुसन्धान सम्पन्न, योगेन्द्र विरुद्ध कर्तव्य ज्यान मुद्दा दायर
- २० चैत्र २०७५, बुधबार
प्रहरीले मोरङको बेलबारी नगरपालिका वडा नं. ४ बुधबारेकी २८ वर्षिय रमिला राईको हत्यामा संलग्न बेलबारी ४ धरहरा टोलका योगेन्द्र गुरुङको बिषयमा अनुसन्धान सम्पन्न गरी मुद्दा दायर गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसार गुरुङबारे सुरुमा मुलुकी फौजदारी अपराध ऐन २०७४ अन्तर्गत ज्यान बेपत्ता पारेको मुुद्दामा अनुसन्धान गरिएको थियो । गत हप्ता रमिलाको लास फेला परेपछि गुरुङलाई कर्तव्य ज्यान मुद्दामा मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिएको छ ।
फाल्गुन १७ गते राति ११ बजेतिर बेलबारी ४ बुधबारे बस्ने वर्ष २८ की रमिला राई हराईरहेको भनी फागुन १९ गते इलाका प्रहरी कार्यलय बेलबारीमा खोज तलासको लागि योगेन्द्र बहादुर गुरुङ्गको अगुवाईमा मृतकको आफन्त र परिवार निबेदन दिएका थिए ।
घटनाको सूचना पाएपछि बेलबारी प्रहरी, स्थानीय वासिन्दाहरू तथा परिवारजनले सम्भावित क्षेत्रहरूमा खोजतलास गर्दा नभेेेेटिएपछि इलाका प्रहरी कार्यालय बेलवारीले सुक्ष्म रूपमा अनुसन्धान अघि बढाईएको थियो ।
घटनाका विभिन्न पक्षहरूको अनुसन्धानको क्रममा प्रहरीले निज योगेन्द्र गुरूङको संलग्नतातर्फ अनुसन्धानको दायरा साँघुरो पार्दै गएको अवस्थामा निज बेलबारीबाट भागी भारतको दार्जलिङतर्फ लुकिछिपी रहेको भन्ने सूचनाको आधारमा निज योगेन्द्रको खोजतलास तिव्र पारेको र फरार योगेन्द्रलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको बिशेष टोलीले नेपालको पुर्वी सिमावर्ति क्षेत्रबाट फागुन २६ गते पक्राउ गरेको प्रहरीले औपचारिक रूपमा सार्वजनिक गरेको बिज्ञप्तिमा उल्लेख छ ।
पक्राउ परेपछि केही सबुत प्रमाणका आधारमा गुरुङले रमिलाको हत्या गरी सप्तकोशी नदीमा मृतकको लास फालेको भन्ने खुलेको थियो । त्यसपछि लाश खोजतलासको लागि प्रहरीको बिशेष टोली, स्थानीय र मृतकको आफन्त समेतले सप्तकोशी नदिमा निरन्तर खोजी गरेको थियो ।
खोजतलासको क्रममा चैत १३ गते सप्तरीस्थित सप्तकोशी नदिमा स्थानियको सहयोगमा प्लास्टिकको बोरा र सो भित्र सेतो प्लास्टिकले बेरिएको अबस्थामा लास भेेेटिएको थियो । मृतकको टाउको र अनुहारमा चोट समेत देखिएको थियो । जिल्ला प्रहरी कार्यालय सप्तरीसंगको समन्वयमा घटनास्थल सहित सबै अनुसन्धान सम्पन्न गरीएपछि कर्तव्य ज्यान मुद्दा लगाइएको प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।
यस मुद्दालाई मुलुकी फौजदारी अपराध (संहिता) ऐन २०७४ अन्तर्गत ज्यान बेपत्ता पारेको केशमा अनुसन्धान गरीएकोमा पछि कर्तव्य ज्यान मुद्दातर्फ अनुसन्धान सम्पन्न गरी आवश्यक कार्वाहीको लागि चैत १९ गते जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरीएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले मंगलबार एक बिज्ञप्ति मार्फत जानकारी दिएका छन् ।