धनकुटाका सातवटै स्थानीय तहमा सकियो नेकपाको पार्टी एकता
- २० चैत्र २०७५, बुधबार
ईश्वर थापा, धनकुटा । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता स्थानीय तहसम्म पुग्न थालेको छ ।
नेपाल कम्युनिस्ट पार्टी बनेको १० महिनापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता तल्ला तहसम्म पुगेको हो । त्यस क्रममा धनकुटाको सात वटै स्थानीय तहका पार्टी कमिटीका सदस्यहरुले सपथ लिएका छन् । धनकुटाबाट नेकपाका एक मात्र केन्द्रिय सदस्य हेमराज भण्डारी लगायत प्रदेश कमिटी सदस्यहरुले सोमबार सात वटै स्थानिय तहमा सपथ गराएका हुन् ।
तीन नगरपालिका र ४ गाउँपालिका रहेको धनकुटामा पूर्व एमालेले धनकुटा नगरपालिका, पाख्रीवास नगरपालिका, साँगुरीगढी गाउँपालिका, छथर जोरपाटी गाउँपालिका र शहिदभुमी गाउँपालिकाको नेतृत्व पाएको छ । त्यसैगरी महालक्ष्मी नगरपालिका र चौबिसे गाउँपालिकाको नेतृत्व पूर्व नेकपा माओवादी केन्द्रले पाएको छ।
एकीकृत कमिटी मध्ये धनकुटा नगर अध्यक्षमा अर्जुन छाराहाङ र सचिवमा खगेन्द्र विष्ट, पाख्रीवास नगर अध्यक्षमा शान्तिराम गौतम र सचिवमा मुक्ति बजगाँई, साँगुरीगढी गाउँपालिका अध्यक्षमा देवमान राई र सचिव जगत राई, छथर जोरपाटी गाउँपालिका अध्यक्षमा इन्द्र सारुमगर र सचिवमा ज्ञानेन्द्र कार्की र शहिदभुमी गाउँपालिका अध्यक्षमा निरबहादुर राई र सचिवमा मातृका राई रहेका छन ।
त्यस्तै पूर्व नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको महालक्ष्मी नगर अध्यक्षमा प्रेमबहादुर खड्का र सचिवमा विष्णुप्रसाद दाहाल तथा चौबिसे गाउँपालिका अध्यक्षमा इन्द्रबहादुर खत्री र सचिवमा राजकुमार चेम्जोङले जिम्मेवारी पाएका छन् ।
पार्टीको स्थानीय तह परिचालनको लागि इन्चार्ज भने जिल्ला नेतृत्व निर्माण भएपछि मात्र तोकिने नेकपाको केन्द्रिय सदस्य हेमराज भण्डारीले जानकारी दिए।